४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलालीमा स्थानीय निर्वाचनको सरगर्मी बढ्यो



शिद्दराज भट्ट

धनगढी । स्थानीय तहको निर्वाचनको सरगर्मी बढ्दै जाँदा कैलालीका स्थानीय तहहरुमा का–को विजयी हुनसक्छ भनेर चुनावी जोड घटाउको चर्चा पनि हुन थालेको छ ।

गत संविधानसभाको चुनावमा दलका उम्मेदवारले पाएको मत, नयाँ थपिएका मतदाता, राजनीतिक दलको सङ्गठनको प्रभाव र उम्मेदवारहरूको लोकप्रियत तथा क्षमतालाई आधार मानेर जोड घटाउ चलिरहेको छ । असार १४ गते हुन लागेको स्थानीय तहमा कसले बाजी मार्न सक्छ भनेर नेता कार्यकर्ताबीच जोड घटाउ हुन थालेको हो ।

चुनावी जोड घटाउमा व्यस्त नेता कार्यकर्ता भने आ–आफ्नै पक्षका उम्मेदवारले जित्ने दाबी गरिरहेका छन् । बाटो, सार्वजनिकस्थल, चिया पसललगायतका जमघट हुने ठाउँमा चुनावी बहसको सरगर्मी बढेको छ । कसले कुन वडाबाट कति मत पाउन सक्छ भनेर मतको हिसाब गर्न छन् ।

निर्वाचनको रौनकसँगै कैलालीका १३ वटै स्थानीय तहमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) बीच नै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । तर डगौरा थारु र कठरिया थारुको बाक्लो बस्ती रहेका स्थानीय तहहरूमा भने नेपाल लोकतान्त्रिक फोरमको पनि पकड क्षेत्र मानिँदै आएको छ ।

पहिलो संविधानसभाको निर्वाचनमा जिल्लाका सबै ६ वटा निर्वाचन क्षेत्रमा नेकपा (माओवादी केन्द्र) बिजयी भएका थिए । दोस्रो संविधानसभाको निर्वाचनमा भने क्षेत्र नं १ र ३ मा लोकतान्त्रिक फोरम, २ मा एमाले, ४ मा माओवादी केन्द्र र क्षेत्र नं ५ र ६ मा नेपाली कांग्रेस विजयी भएका थिए ।

स्थानीय तहको पुनःसंरचना पछि पहिलो पटक निर्वाचन हुन लागेको र मतदाताको संख्या संख्या थपिएको लगायतका कारणले चुनावी नतिजा साबिकको जस्तो नभई फरक आउन सक्ने अनुमान गरिएको छ ।

जिल्लाभरि नै कुन तहमा कसले चुनाव जित्छ भन्ने चर्चाका बीच ७ नम्बर प्रदेशको एकमात्र उपमहानगर र प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको धनगढी उपमहानगरको प्रमुख र उपप्रमुखमा कसले बाजी मार्न सक्छ भन्ने चासो बढी देखिएको छ ।

धनगढी उपमहानगर (कैलाली निर्वाचन क्षेत्र नं ६) मा दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारी मत अन्तरले विजयी भएका थिए । उनले छोडेपछि भएको उपनिर्वाचनमा पनि नेपाली काँग्रेसकै पुष्करनाथ ओझा विजयी भएका थिए ।

धनगढीको प्रमुख र उपप्रमुखमा २०४६ को राजनीतिक परिवर्तनपछि भएको पहिलो स्थानीय चुनावमा नेपाली काँग्रेस र दोस्रो पटक एमाले विजयी भएका थिए ।

यद्यपि पछिल्लो पटक दोस्रो संविधानसभाको चुनावमा पाएको मतको आधार र पार्टीको बलियो सङ्गठनका कारण अहिले पनि धनगढी उपमहानगरको चुनावमा आफूहरु जित्नेमा कांग्रेस नेता कार्यकर्ता ढुक्क देखिन्छन् ।

उपमहानगरको प्रमुख र उपप्रमुख पदमा सक्षम, योग्य र जनताको सुख दुःखमा साथ दिने उम्मेदवार तय गरेकाले आफूहरुको विजय सुनिश्चित रहेको कांग्रेसका स्थानीय नेता मनिराम देवल दाबी गर्छन् ।
तर काँग्रेसबाहेकका दलका नेता कार्यकर्ता भने अहिलेको चुनावी परिस्थिति र जनमत पहिलेको भन्दा फरक रहेको बताइरहेका छन् ।

पहिलो संविधानसभाको चुनावमा पाएको मतकै हाराहारीमा आफूहरू आइपुगेकाले उपमहानगरको चुनावमा आफ्ना उम्मेदवार विजयी हुने माओवादी केन्द्रका रमेश भट्टराई दाबी गर्छन् ।

एमालेका स्थानीय एक नेताले देशका तीन प्रदेशमा भएको पहिलो चरणको निर्वाचनको परिणामले दोस्रो चरणको चुनावमा पनि एमाले विजयी हुने दाबी गर्छन् ।

एमालेको सङ्गठन सुदृढ हुँदै गएको र मत माग्न मतदाताको घर दैलोमा पुग्दा राम्रो व्यवहार हुने गरेकाले आफूहरु जित्नेमा ढुक्क रहेको एमालेका जिल्ला सचिव रणबहादुर चन्द दाबी गर्छन् ।

प्रमुख तीन दलका उम्मेदवारबीच कडा चुनावी प्रतिस्पर्धा भइरहँदा धनगढी उपमहानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यापारी गोपाल हमाल पनि दलका उम्मेदवारलाई कडा चुनौती दिइरहेको विष्लेषण एकथरि मतदाताले गर्न थालेका छन् ।

कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका हमालले एमाले, कांग्रेस, राप्रपा र माओवादी केन्द्रका मत प्रभावित पार्नसक्ने देखिएकाले प्रमुख दलका उम्मेदवारका लागि उहाँ चुनौतीका रुपमा देखिएको कतिपयको भनाइ छ ।

यद्यपि काँग्रेस, माओवादी केन्द्र र एमालेका नेता कार्यकर्ता स्वतन्त्र उम्मेदवार हमालले आफूहरुको उम्मेदवारलाई चुनौती दिन नसक्ने ठोकुवा गर्छन् ।

उपमहानगरको प्रमुख र उपप्रमुखमा क्रमशः कांग्रेसले नृप ओड र सुशीला मिश्र भट्ट, एमालेले दुर्गाप्रसाद जोशी र रुक्मिणी देवकोटा, माओवादी केन्द्रले रामसमझ राना थारु र शान्ति अधिकारी क्षेत्री, राप्रपाले विष्णुबहादुर साहु र जनककुमारी कुँवर, नेपाल लोकतान्त्रिक फोरमले प्रमुखमा प्रेम बिसी र उपप्रमुखमा दुर्गा कुश्मीलाई उठाउने घोषणा गरेको छ ।

असार महिनाको उखरमाउलो गर्मीका बाबजुद पनि दलका नेता र तीनका उम्मेदवार असिनपसिन हुँदै घरदैलो, चुनावी सभाजस्ता कार्यक्रममा व्यस्त रहेका छन् । १९ वटा वडा रहेको धनगढीमा ७६ हजार ४३० मतदाता छन् । रासस

प्रकाशित मिति : २ असार २०७४, शुक्रबार ००:००