७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक गाग्री पानीका लागि घन्टौँ हिँड्नुपर्ने बाध्यता



जाजरकोट । त्रिवेणी नलगाड नगरपालिका ४, प्यारगाराकी सुशीला सार्कीलाई एक गाग्री पानी ल्याउन दैनिक छ घन्टाको समय खर्चनुपर्छ ।

घर नजिक पानीको सुविधा नहुँदा सुशीला मात्र हैन प्यारगाराका ३० घरपरिवारलाई तीन घन्टा टाढाको नाउलोबाट पिउने पानी ओसार्नुपर्ने बाध्यता छ । प्यारगाराका ३० घरपरिवारका पशुचौपायालगायतको पनि एकमात्र पानीको स्रोत हो, छिपछिपे मूलको नाउलो । यसमा पानीको स्रोत कम हुँदा गाग्री लिएर पुग्नेबित्तिकै पानी भर्न पाइँदैन । पालो कुरेर पानी भर्नुपर्दा समय बढी लाग्ने गरेको छ ।

“गाउँ नजिक पानीको कुनै स्रोत छैन । दुई घन्टा लगाएर पानी ल्याउनुपर्छ, पानी ओसार्दै दिन बित्छ । ५० वर्ष अघिदेखि पिउने पानीका लागि दुःख पाउँदै आएका छौँ,” स्थानीय तिलबहादुर सार्कीले भने, “पिउने पानीका लागि कुनै नेता र सङ्घसंस्थाले वास्ता गरेका छैनन् ।” यही नाउलोको पानी पनि कसले पहिला भर्ने भन्ने तछाडमछाड हुने गरेको उनले बताए ।

पशु चौपाया र जङ्गली जनावरले पनि यही नाउलामै पानी पिउने भएकाले पानी दूषित हुने गरेको र वर्षातको समयमा आकासे पानी सङ्कलन गरेर खाने गरेको पनि उनले बताए । बालबालिकाले समेत पढ्न नपाई पानी ओसार्नमै समय खर्चने उनले बताए ।

तीन हजार मिटरको उचाइमा रहेको प्यारगारा फूलचाउली गाउँमा पानी अभावले चर्पीको प्रयोग तथा सरसफाइमा समेत कमी देखिन्छ । पानी अभावमा नवआगन्तुकलाई बास बसाउन नै लाज लाग्ने गरेको भक्तबहादुर सार्कीले बताए । गाउँमा बनेका चर्पी प्रयोगविहीन छन् । स्थानीय बासिन्दा खोला खोल्सा र जङ्गलमा खुला शौच गर्न बाध्य भएका छन् । जसका कारण स्थानीय बासिन्दा झाडापखाला, आउँ, जुकालगायत रोगबाट पीडित हुने गरेका छन् ।

जिल्लाका सरकारी र गैरसरकारी निकायले बर्सेनि खानेपानी योजनामा करोडौँ खर्च गर्ने गरे पनि प्यारगारा, फूलचाउलीलगायत बस्ती भने सधैँ काकाकुल छन् । रासस

प्रकाशित मिति : २९ जेष्ठ २०७४, सोमबार ००:००