४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य दलले उम्मेदवारको टुङ्गो नलगाउँदा मतदाता अलमलमा



विराटनगर । प्रदेश नं– १ को राजनीतिक केन्द्रविन्दुको रुपमा मानिएको विराटनगर महानगरपालिकाको स्थानीय तहको निर्वाचनका लागि प्रमुख दलले उम्मेदवारको नाम सार्वजनिक नगरेकाले सर्वसाधारण मतदाता अलमलमा परेका छन् ।

दोस्रोचरणको निर्वाचनको मिति दुई पटक सारिएको र अहिलेसम्म मुख्य राजनीतिक दलले उम्मेदवारको नाम सार्वजनिक नगर्दा सर्वसाधारण मतदातालाई कतै पुनः निर्वाचनको तिथि सारिने हो की भन्ने शंकाका कारण थप अलमलमा परेका हुन् ।

माओवादी केन्द्रले विराटनगर महानगरपालिकाका प्रमुख, उपप्रमुखलगायत १९ वटै वडाका अध्यक्ष र सदस्यका नाम सार्वजनिक गरिसकेको छ भने नेपाली कांग्रेस, नेकपा एमाले, सङ्घीय समाजवादी फोरम, फोरम लोकतान्त्रिक नेपाल, राप्रपालगायतका दलले अधिकारिक रुपमा उम्मेदवारको टुङ्गो लगाएका छैनन् ।

विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि कांग्रेसबाट सांसद अमृत अर्याल, विश्वनाथ रिजाल, भीम पराजुली र डिला सङ्ग्रोलाको नाम चर्चामा छ भने नेकपा एमाले बाट पूर्वमन्त्री लालबाबु पण्डित, पार्टीका जिल्ला अध्यक्ष विनोद ढकाल, पूर्वअध्यक्ष महेश रेग्मीलगायतका नाम चर्चामा छन् ।

त्यस्तै विराटनगर महानगरपालिकाको प्रमुखमा राप्रपाबाट पूर्व नगरप्रमुख प्रह्लाद साहको नाम जिल्लाबाट सिफारिस भएको छ भने सङ्घीय समाजवादी फोरम नेपालबाट जयराम यादव, भुराज राई र उमेश यादवको नाम चर्चामा छन् ।

यस्तै लोकतान्त्रिक फोरम नेपालबाट भविस श्रेष्ठको नाम अघि सारिएको बताइएको छ । विराटनगर महानगरपालिकामा फोरम लोकतान्त्रिक र सङ्घीय समाजवादीबीच तालमेलको सम्भावना रहेको सङ्घीय फोरम नेपालका कार्यकर्ता देवेन्द्र यादवले जानकारी गराए ।

राष्ट्रिय जनता पार्टी ९राजपा० पनि निर्वाचनमा सहभागी भएमा निर्वाचनमा कडा प्रतिस्पर्धा हुने सम्भावना रहेको सर्वसाधारण मतदाताको बुझाइ छ । विराटनगर महानगरपालिकामा मुख्य राजनीतिक दलका साथै मधेस केन्द्रित दलको पनि राम्रो पकड रहेकाले यस महानगरपालिकाको निर्वाचनको परिणाम बढी रोचक हुने राजनीतिक विश्लेषकहरुको अनुमान छ ।

यसैबीच, विभिन्न राजनीतिक दलहरुले निर्वाचनको प्रचारप्रसारलाई व्यापक रुपमा तीव्रता दिएका छन् । पार्टीको झण्डा र चुनाव चिन्ह बोकेर दलका प्रतिनिधिले सर्वसाधारण मतदाताको घरदैलो पुग्ने कार्यमा खटिएका छन् । मतदाताहरुलाई आकर्षित पार्नका लागि विभिन्न दलले विराटनगर बजारमा मोटरसाइकल र्यालीसमेत निकाल्ने गरेका छन् । रासस

प्रकाशित मिति : २६ जेष्ठ २०७४, शुक्रबार ००:००