१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीतिक दलले पनि मतदाता शिक्षा दिँदै



तेह्रथुम । जिल्लामा राजनीतिक दलले पनि मतदाता शिक्षा सामग्री नै बनाएर गाउँ गाउँमा मतदाता शिक्षा दिन थालेका छन् । दलले पहिलो चरणको निर्वाचनमा जस्तो मत बदर नहोस् भनेर कार्यकर्ता र मतदातालाई मतदान गर्नेबारे सिकाउन थालेका हुन् ।

मतदाताको घरदैलोसम्म पुग्दा आफ्नो पार्टीलाई मतदान गर्न सिकाउँदै दलले मतदाता शिक्षाका सामग्री लगेर मतदान कसरी गर्ने भन्ने सिकाइरहेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नयाँ शक्ति नेपाललगायत राजनीतिक दलहरू आफ्नो पार्टीमा यसरी मतदान गर्नुस् भनेर मतदाता शिक्षा सामग्रीसहित घरदैलो गरिरहेका हुन् ।

दलहरूले आफ्नो पार्टीमा स्वस्तिक छाप लगाइएका मतपत्र नै बनाएका छन् । त्यस्ता मतपत्र बाँड्दै मतदातालाई मत बदर नहुने गरी सिकाइरहेको नेताहरूले बताएका छन् । पार्टीको घरदैलो अभियानसंगै मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन गरिएको कांग्रेस जिल्ला सचिव सन्तोष सुब्बाले बताए ।

यसरी मतदातालाई भोट हाल्न पनि सजिलो हुने र आफ्नो पार्टीको चुनाव चिन्हका बारेमा जानकारीसमेत दिन सकिने भएपछि घरदैलो अभियानसंगै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको एमाले जिल्ला अध्यक्ष लक्ष्मण तिवारीले बताए । नयाँ शक्ति नेपालका जिल्ला संयोजक विष्णुप्रसाद दाहालले आफ्नो पार्टीले जिल्लामा प्रचारप्रसार अभियानसंगै मतदाता शिक्षामा पनि जोड दिएको उल्लेख गरे ।

नमुना स्वस्तिक छाप तथा नमुना मतपत्र बनाएर मतदातालाई नमुना मतदान गराइरहेको उनले बताए । गाउँपालिका तथा नगरपालिकाका उम्मेदवारसमेत विभिन्न वडामा नमुना स्वस्तिक छाप र मतपत्रसहित मतदातालाई मतदान गर्न सिकाइरहेका छन् ।

माओवादी केन्द्रका इन्चार्ज दुर्गाप्रसाद चापागार्इंले मतदाता शिक्षा कार्यक्रममा आफ्नो पार्टी पनि सक्रिय रूपमा लागेको बताए ।

जिल्लामा सङ्घीय लिम्बुवान मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले, राष्ट्रिय जनमोर्चालगायतका साना दलले पनि मतदातालाई मतदान गर्न सिकाउँदै घरदैलो गरिरहेका छन् । रासस

प्रकाशित मिति : २१ जेष्ठ २०७४, आइतबार ००:००