८ बैशाख २०८१, शनिबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सचिव खोज्दै वडाध्यक्ष सिंहदरबारमा !



रञ्जित तामाङ, काठमाडौं । सिंहदरबारको अधिकार गाउँमा पुग्यो भनेर के गर्नु ? हालै निर्वाचित धादिङका एक वडाध्यक्ष आफ्नो सचिव खोज्दै सिंहदरबार आईपुगेका छन् ।

धादिङ नेत्रावति गाउँपलिका– ३ का वडाध्यक्ष विजयकुमार तामाङ वडा सचिव खोज्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा आइपुगेका हुन् ।

शुक्रबार वडाध्यक्ष तामाङले मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङसँग सचिवले वेवास्ता गरेका कारण अहिलेसम्म वडाको कार्यभार सम्हाल्नसमेत नपाएको गुनासो गरिरहेका थिए ।

वडा सचिव सञ्जिव गहतराजले सरकारबाट कुनै निर्देशन नपाएको भन्दै वेवास्ता गरेको उनले गुनासो गरे । गाउँ कार्यपालिकाको चुनाव सकिसक्दा पनि वडाध्यक्ष तामाङले पदभार ग्रहण गर्न पाएका छैनन् ।

“चुनाव जितेर जेठ ५ गते नै सपथ लिइसक्यौं । सुरूमा सरकारले केही निर्देशन दिएको छैन भनेर आलटाल ग¥यो,” उनले भने, “अहिले मोवाइल स्वीच अफ गरेर कता गयो थाह भएन । वडामा सचिव पठाउनु पर्यो  भनेर मन्त्रालयको आएको हुँ ।”

स्थानीय खबरले पनि समाचार तयार पार्नेक्रममा वडा सचिव सञ्जिव गहतराजलाई सम्पर्क गर्न खोज्दा उनको नम्बर ९८४९२३… स्वीच अफ थियो ।

गत बैशाख ३१ गते भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका तामाङले कार्यालय सहायकलाई साविकको गाविस भवनको सरसफाई गर्न लगाएका छन् ।

“सँगै जितेका साथीहरूले काम थालिसके म सचिव खोज्दै सिंहदरबार आईपुगेको छु,” उनले भने, “वडाको कागज पत्र, लेटरप्याडदेखि सबै सामान सचिवसँगै छ ।”

कारवाही गर्न निर्देशन

उसो त मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङ पनि वडा सचिव सञ्जिव गहतराजको रबैया सुनेर चकित छन् । जवकि, स्थानीय तह सञ्चालनका लागी आवश्यक प्रबन्ध गर्न सरकारले कार्यादेश पठाइसकेको छ ।

“सपथ लिइसके पछि पदभार ग्रहण गरेर काम थाल्ने गरि सरकारले कार्यादेश पठाइसकेको छ,” प्रवक्ता तामाङले भने, “निर्वाचित जनप्रतिनिधीलाई पदभार ग्रहण गरेर काम थाल्न कुनै बाधा छैन । यो सरासर वडा सचिवको लापरवाही हो ।”

प्रवक्ता तामाङले नेत्रावति गाउँपालिकाका कार्यकारी अधिकृत दिलमान शाक्यलाई फोन गरेर कारवाही गर्न निर्देशन दिएका छन् ।

वडा सचिव गहतराजको सट्टामा विद्यालय वा स्वास्थ्य चौकीमा कार्यरत निजामति तर्फका कर्मचारीलाई खटाएर भए पनि वडाध्यक्षलाई कार्यभार सम्हाल्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । वडाध्यक्षले कार्यभार सम्हालेपछि अधिकार प्रत्यायोजन गरेर मात्रै वडा सचिवले काम गर्ने व्यवस्था छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७४, शुक्रबार ००:००