४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कुश्मा र फलेवास नगर कार्यपालिकामा एमाले विजयी



फलेवास पर्वत, पर्वतको कुश्मा नगरपालिकाको नगर कार्यपालिकामा नेकपा एमालेको प्यानलै विजयी भएको छ ।

बिहीबार भएको निर्वाचन प्रक्रियामा नेकपा एमालेको प्यानलसहित विजयी भएको हो । तीन दलित र अल्पसङ्ख्यक तथा पाँचजना महिला सदस्यका लागि भएको निर्वाचन प्रक्रियामा एमाले विजयी भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचित हुनेमा दलित तथा अल्पसङ्ख्यकबाट मनोहर विश्वकर्मा, डम्बरबहादुर नेपाली र देवेन्द्रबहादुर नेपाली रहेका छन् । त्यसैगरी, महिला सदस्यमा तारादेवी सार्की, देवी नेपाली, नन्दकला क्षेत्री, राधिकाकुमारी शर्मा र सुमित्रा पौडेल रहेका छन् ।

उक्त नगरपालिकाका १४ वटा वडामध्ये नौवटा वडामा एमाले र ५ वडामा नेपाली कांग्रेस विजयी भएको थियो । कुल ७२ मतमध्ये एमालेको प्यानलमा ३७ र कांग्रेसको प्यानलमा ३५ मत खसेका थिए ।

योसँगै नगर कार्यपालिकामा एमालेका १७ र नेपाली कांग्रेसका सातजना रहने भएका छन् । स्थानीय तहको निर्वाचनमा कुश्मा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेका रामचन्द्र जोशी र उपप्रमुखमा पनि कांग्रेसकै सीता काफ्ले लामिछाने विजयी भएका थिए ।

फलेवासमा पनि एमाले

पर्वतको फलेवास नगरकार्यपालिकाको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट नेकपा एमाले विजयी भएको छ । तीनजना दलित तथा अल्पसङ्ख्यक सदस्य तथा पाँच महिला सदस्यका लागि बिहीबार भएको निर्वाचनमा एमाले बहुमतले विजयी भएको हो ।

कार्यपालिका सदस्यमा विजयी हुने पाँचजना महिला सदस्यमा केशाकुमारी दमिनी, नन्दु गुरुङ, अमृता काफ्ले, कमला श्रेष्ठ र निर्मला भुषाल रहेका छन् भने तीनजना अल्पसङ्ख्यक वा दलितबाट नेत्रबहादुर विक, हिराबहादुर सुनार र सेरबहादुर सुनार रहेका छन् ।

उनीहरुलाई बिहीबार नै पद तथा गोपनीयताको शपथग्रहण गराइएको छ । फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले पदभार ग्रहण गराएका छन् ।

फलेवास नगरमा २१ सदस्यीय नगर कार्यपालिका गठन भएको हो । फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले कार्यपालिका, वडा अध्यक्षसहित सदस्यमा निर्वाचित जनप्रतिनिधीलाई विकास निर्माणमा कटिबद्ध रहेर काम गर्न निर्देशन दिएका छन् । रासस

प्रकाशित मिति : १९ जेष्ठ २०७४, शुक्रबार ००:००