१५ मंसिर २०७९, बिहिबार | Fri Dec 2 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरतपुर महानगरपालिकाको ९० मतपत्र गन्न नमिल्ने



चितवन, भरतपुर महानगरपालिकाको ९० मतपत्र गन्न नमिल्ने गरी च्यातिएको पाइएको छ ।

निर्वाचन आयोगको निर्देशनमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहिबार दलका प्रमुख, उम्मेदवार, उनका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखको रोहवरमा सिल गरी राखिएको च्यातिएको मतपत्र गन्दा ९० मतपत्र गन्न नमिल्ने गरी च्यातिएको पाइएको हो ।

मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले भरतपुर महानगरपालिका वडा नं १९ मा कुल दुई हजार ८९७ मत खसेकामा एक हजार ८०९ मतगणना भइसकेको, ९९८ मत गन्न मिल्ने अवस्थामा रहेको र बाँकी ९० मत पूर्णरुपमा नोक्सान भएको बताए ।

उनले यसको प्रतिवेदन आजै (बिहिबारं निर्वाचन आयोगमा पठाउने पनि जानकारी दिए ।

च्यातिएको मतपत्र गणनापछि नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले पार्टीले धेरै मतपत्र च्यातिएकाले पुनःमतदान हुनुपर्ने जनाएको भए पनि निर्वाचन आयोगको निर्णय स्वीकार गर्ने बताए ।

नेकपा एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले च्यातिएका मतपत्र निर्णायक नभएकाले तिनलाई बदर गरी मतगणना सञ्चालन गर्नुपर्ने बताए । माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्य सुवेदीले धेरै संख्यामा मतपत्र च्यातिएकाले पुनःमतदानको विकल्प नरहेको बताए ।

मतगणना जारी रहेका बेला गत आइतबार मतपत्र च्यातिएपछि सिल गरेर राखिएको मतगणना केन्द्र खोलेर च्यातिएका मतपत्रको गणना गरिएको हो । मुख्य निर्वाचन अधिकृत न्यौपानेका अनुसार उम्मेदवार, तीनका प्रतिनिधि र पार्टीका प्रमुख गरी ४६ जनालाई मात्र छुटै पासको व्यवस्था गरी प्रवेश गराएर मतपत्रको अवस्थाका बारेमा अध्ययन गरिएको बताए ।

मतगणना स्थलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र नेकपा एमालेले छुट्टाछुट्टै ताला लगाएका थिए । दिउँसो २ः३० बजे ताला खोलेर च्यातिएको मतपत्रको अवस्था बुझ्नुका साथै तथ्याङ्क लिन सुरु गरिएको थियो ।

यसअघि निर्वाचन आयोगबाट सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाको नेतृत्वमा आएको टोलीले मत च्यातिँदा रहेका प्रत्यक्षदर्शी, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँग घटनाका बारेमा जानकारी लिएको थियो ।

सोको प्रतिवेदन टोलीले आयोगमा बुधबार बुझाएसँगै निर्वाचन आयोगले च्यातिएको मतपत्रका बारेमा तथ्याङ्क लिन मुख्य निर्वाचन अधिकृतलाई निर्देश गरेको थियो । नेकपा एमालेले मतपत्र माओवादी केन्द्रका प्रतिनिधिले च्यातेको बताएको छ भने माओवादी केन्द्रले एमालेले मतपत्र च्यात्न थालेपछि जोगाउने क्रममा च्यातिएको जनाएको छ । मतपत्र च्यातेको अभियोगमा पक्राउ परेका माओवादी केन्द्रका दुई जना प्रतिनिधिलाई आज (बिहिबार) जिल्ला अदालत चितवनले जनही रु एक लाख धरौटीमा रिहा गरेको छ ।

भरतपुर महानगरपालिकाको वडा नं १९ को मतगणना अन्तिम चरणमा पुग्न लाग्दा मतपत्र च्यातिएको हो । अब वडा नं २० को मात्र मतगणना बाँकी रहेको छ । १९ नं को एक हजार ८०० मतगणना हुँदासम्म नेकपा एमालेका देवीप्रसाद ज्ञवालीको ४१ हजार ६४१ र माओवादी केन्द्रकी रेणु दाहालको ४० हजार ९०८ रहेको छ । महानगरपालिकामा प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालभन्दा ७३३ मतले अगाडि रहेका छन् । महानगरमा एक लाख १२ हजार ७४१ मत खसेको थियो । रासस

प्रकाशित मिति : १८ जेष्ठ २०७४, बिहिबार ००:००