१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरतपुरमा च्यातिएको मतपत्रको सङ्ख्या यकिन गरिँदै



चितवन, गत आइतबार राति मतपत्र च्यातिएपछि सिल गरेर राखिएको मतगणना केन्द्र खोलेर च्यातिएका मतपत्रको गणना सुरु गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेका अनुसार मतपत्रको अवस्थाका बारेमा अध्ययन गर्न उम्मेदवार, तिनका प्रतिनिधि र पार्टीका प्रमुख गरी ४६ जनालाई मात्र छुट्टै अनुमतिपत्रको व्यवस्था गरी प्रवेश गर्न दिइएको छ । च्यातिएका मतपत्रको तथ्याङ्क लिएर निर्वाचन आयोगमा पठाइने उनले जानकारी दिए ।

मतगणना स्थलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र नेकपा एमालेले छुट्टाछुट्टै ताला लगाएका थिए । दिउँसो २ः३० बजेदेखि ताला खोलेर च्यातिएका मतपत्रको अवस्था बुझ्ने र विवरण तयार गर्ने काम सुरु गरिएको छ ।

यसअघि निर्वाचन आयोगले सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाको नेतृत्वमा आएको टोलीले घटनाका प्रत्यक्षदर्शी, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँग जानकारी लिएको थियो ।

सोको प्रतिवेदन टोलीले बुधबार बुझाएसँगै निर्वाचन आयोगले च्यातिएको मतपत्रको यकिन सङ्ख्या लिन मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो ।

एमालेले मतपत्र नेकपा माओवादी केन्द्रका प्रतिनिधिले च्यातेको आरोप लगाएको छ भने माओवादी केन्द्रले एमालेले मतपत्र च्यात्न थालेपछि जोगाउने क्रममा च्यातिएको जनाएको छ । माओवादी केन्द्रका दुईजना प्रतिनिधिलाई पक्राउ गरी जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरिएको छ ।

भरतपुर महानगरपालिकाको वडा नं १९ को मतगणना अन्तिम चरणमा पुग्न लाग्दा मतपत्र च्यातिएको हो । अब वडा नं २० को मात्र मतगणना बाँकी रहेको छ ।

महानगरपालिकामा प्रमुख पदमा एमालेका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार रेणू दाहालभन्दा ७३३ मतले अगाडि रहेका छन् । महानगरमा एक लाख १२ हजार ७४१ मत खसेको बताइएको छ । रासस

प्रकाशित मिति : १८ जेष्ठ २०७४, बिहिबार ००:००