१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महोत्तरीका म्यादी प्रहरी पैसा असुल्दै



महोत्तरी जिल्लामा दोस्रो चरणको निर्वाचन प्रयोजनका लागि नेपाल सरकारले भर्ना गरेका म्यादी प्रहरीले भने पैसा असुल्न थालेको गुनासो सुनिन थालेको छ ।

नेपाल प्रहरीसरह नै जिल्लाका विभिन्न गाउँ, सहर र चोकचोकमा पालैपालो २४ घन्टे ड्युटीमा बसेका म्यादी प्रहरी ड्युटीमै पैसा असुल्न थालेको सर्वसाधारण जिल्लावासीको आरोप रहेको छ । महोत्तरीको सदरमुकाम जलेश्वरको दुर्गाचौक, शङ्करचौक, नगरपालिकाचौक, जिरोमाइललगायत चौकमा म्यादी प्रहरीले विभिन्न व्यापारी, व्यवसायी तथा सवारी चालकसँग पैसा असुल्न थालेको आरोप छ ।

त्यस्तै, जिल्लाका भिट्ठामोड, मटिहानी, नैन्ही, बथनाहा, कटैया, इटहर्वा, रघुनाथपुर, सम्सीलगायत सीमानाकामा समेत खट्न थालेका म्यादी प्रहरीले सीमापारिबाट आउने सर्वसाधारणदेखि साना, ठूला व्यापारी व्यवसायीसँग रकम असुल्न थालेको प्रत्यक्षदर्शी बताउँछन् ।

यसका अलावा राति पनि खट्ने गरेका म्यादी प्रहरीले चेकजाँचका नाममा चोकचोकमा अनावश्यकरुपमा सबै सवारीसाधनलाई रोक्ने, दुःख दिने र पैसा असुल्ने गरेको विभिन्न ठाउँबाट गुनासा आएका छन् ।

म्यादी प्रहरीले प्रेस, एम्बुलेन्स लगायतका सवारीसाधनलाई पनि अनावश्यकरुपमा रोक्ने र चेकजाँच गरेर हैरान पार्ने गरेको देखिएको छ । यसअघि, नेपाल प्रहरीले असुल्दै आएको पैसा अब म्यादी प्रहरीले असुल्न थालेको र नेपाल प्रहरी त्यहाँ उपस्थित रहँदा पनि उसले केही नभन्ने गरेकाले उनकै संलग्नता र आदेशमा म्यादी प्रहरीले पैसा असुल्ने गरेको सर्वसाधारणको आरोप रहेको छ ।

यसबारे जिल्ला प्रहरी कार्यालय महोत्तरीमा सोध्दा त्यहाँबाट म्यादी प्रहरीले त्यस्तो कुनै काम नगरेको जवाफ आएको छ । रासस

प्रकाशित मिति : १८ जेष्ठ २०७४, बिहिबार ००:००