१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौँमा नगर कार्यपालिका निर्वाचन प्रक्रिया सुरु



काठमाडौँ, काठमाडौँका नगरपालिकामा नगर कार्यपालिकाको निर्वाचन प्रक्रिया सुरु भएको छ ।

शङ्खरापुर नगरपालिकामा आज (बुधबार) भएको आठ सदस्यीय कार्यपालिकाको निर्वाचनमा नेकपा एमाले को समूह विजयी भएको छ । एमालेले २५ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलको गठबन्धनले २० मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत भुवनेश्वर पौडेलले जानकारी दिए ।

यसअघि नगर सदस्यमा निर्वाचित महिलामध्येबाट नगर कार्यपालिका सदस्यको निर्वाचन गरिएको थियो । पाँच महिला सदस्यमा ज्ञानु श्रेष्ठ, सुनिता घ्लान, बुद्धिमाया तामाङ, ज्ञानकुमारी पोखरेल र उमादेवी कार्की निर्वाचित भएका छन् । यसैगरी दलित वा अल्पसंख्यकमा आनन्द सार्की, भक्तबहादुर कामी र अनिल परियार निर्वाचित भएका छन् ।

नगर कार्यपालिकामा प्रमुख, उपप्रमुख र वडाध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ । महिला पाँच र दलित वा अल्पसंख्यक तीनमा नगरमा निर्वाचित सदस्यमध्येबाट उम्मेदवार हुने र मत दिने व्यवस्था गरिएको छ ।

दक्षिणकाली नगरपालिकामा बिहीबार नगर कार्यपालिकाको निर्वाचनका लागि आज (बुधबार) मनोनयन दर्ता भएको निर्वाचन अधिकृत प्रतिमा पोखरेलले बताइन् । नौ वटा वडा रहेको नगरपालिकामा आज (बुधबार)को मनोनयनमै निर्विरोध भएको हो । वडा नं ७ बाट दलित महिला वडा सदस्यको उम्मेदवारी नपरेकाले नगरमा ४६ जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।

निर्वाचितमा कांग्रेस र एमालेका २३ २३ सदस्य रहेकाले कार्यपालिका सदस्यमा दुवै दलले सहमति गरेर चार चार पदमा उम्मेदवारी दिएको नगर निर्वाचन कार्यालयले जनाएको छ ।

नागार्जुन नगरपालिकामा जेठ १९ गते, गोकर्णेश्वर र तारकेश्वर नगरपालिकामा जेठ २० गते, कीर्तिपुर, कागेश्वरी मनोहरा, बूढानीलकण्ठ, चन्द्रागिरि र टोखा नगरपालिकामा जेठ २२ गते नगर कार्यपालिकाको निर्वाचन तोकिएको छ । रासस

प्रकाशित मिति : १७ जेष्ठ २०७४, बुधबार ००:००