१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतपत्र च्यातिएको घटनामाथि छानबिन गर्न अनुगमन टोली गठन



काठमाडौँ, निर्वाचन आयोगले स्थानीय तह निर्वाचनअन्तर्गत चितवनको भरतपुर महानगरपालिकामा मतगणनाका क्रममा मतपत्र च्यातिएको घटनाको सत्यतथ्य छानबिन गर्न तीन सदस्यीय अनुगमन टोली गठन गरेको छ ।

आयोगको सोमबारको बैठकले चितवनका मुख्य निर्वाचन अधिकृतले आयोगमा पठाएको प्रतिवेदनका आधारमा घटनाको छानबिन गर्न सहन्यायाधिवक्ता गीताप्रसाद तिमिल्सिना संयोजक रहेको अनुगमन टोली गठन गर्ने निर्णय गरेको हो ।

टोलीका सदस्यमा गृह मन्त्रालयका सहसचिव र प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक रहेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

टोलीलाई घटनाको छानबिन गरी यही जेठ १७ गतेभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ । टोलीले स्थलगत भ्रमण गरी मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, मतगणनास्थलमा खटिएका सशस्त्र प्रहरीका टोली प्रमुख र राजनीतिक दलसँगसमेत छलफल गरी प्रतिवेदन पेस गर्नेछ ।

निर्वाचन अधिकृतको कार्यालय चितवनले भरतपुर महानगरपालिका वडा नं १९ को एक हजार ८०९ मतगणना पूरा भई बाँकी मतगणना भइरहँदा मतगणना प्रतिनिधिमध्ये केहीले मतगणनास्थलमा प्रवेश गरी मतगणना भएका र नभएकासमेत सयौँ मतपत्र च्यात्ने काम गरेको आयोगलाई जानकारी गराएको थियो ।

हिजो राति ११ः५५ बजे मतगणना स्थलमा असामान्य अवस्था सिर्जना उत्पन्न भई तत्काल मतगणना कार्य स्थगन गर्नुपरेको व्यहोराको प्रतिवेदन मुख्य निर्वाचन अधिकृतले आयोगमा पठाएका थिए ।

उक्त महानगरपालिकाका २९ वडामध्ये २७ वडाको मतगणना सम्पन्न भइसकेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेणू दाहाल र नेकपा एमालेका देवी ज्ञवालीबीच उक्त महानगरपालिकाको प्रमुख पदमा निकै कडा प्रतिस्पर्धा रहँदै आएको छ । भरतपुर नगरपालिकाको निर्वाचनलाई धेरैले चासोका साथ नियाल्दै आएका छन् । रासस

प्रकाशित मिति : १५ जेष्ठ २०७४, सोमबार ००:००