१३ चैत्र २०८०, मंगलबार | Wed Mar 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तत्काल मतगणना सुरु गर्न एमालेको माग



चितवन, नेकपा एमाले चितवनले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी गएराति मतपत्र च्यातिएपछि अवरुद्ध मतगणना कार्य तत्काल सञ्चालन गर्न माग गरेको छ ।

पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले माओवादी केन्द्र नेतृत्वको निर्देशनमा उक्त पार्टीका द्रोर्णबाबु शिवाकोटी, मधु न्यौपाने र दिलीप पौडेललगायतले मतपत्र च्यातेको भन्दै उनीहरुलाई कानुनी कारबाहीसमेत गर्न माग गरेका छन् ।

भरतपुर महानगरपालिका वडा नं १९ को शान्तिपूर्ण ढङ्गले मतगणना भइरहेको समयमा मतपत्र च्यातिएको जारी विज्ञप्तिमा जनाइएको छ ।

मतपत्र च्यातिएपछि तत्काल घटनाको बारेमा सत्यतथ्य जानकारी मिडियामार्फत दिन र च्यातिएका मतपत्र अलग राखी बाँकी मतपत्र गणना गर्नुपर्छ भन्ने निर्वाचन अधिकृतसमक्ष माग राखेको भए पनि निर्वाचन अधिकृतले मागलाई सुनुवाइ नगरी गणना कार्य स्थगित गरिएको भन्दै विज्ञप्तिमा विरोध गरिएको छ ।

विज्ञप्तिमा माओवादी निकट केही सामाजिक सञ्जालमा एमालेलाई समेत मुछी भ्रामक कुरा सार्वजनिक गरिएको भन्दै सोको पनि खण्डन गरिएको छ । माओवादी केन्द्र निकट व्यक्तिहरुले सामाजिक सञ्जालमार्फत मतपत्र च्यात्ने काम एमालेले गरेको आरोप लगाएका थिए ।

पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा जिल्ला अध्यक्ष पोखरेलले पुनः मतदान सम्भव नरहेको बताउँदै यस्तो कार्यले दोस्रो चरणको मतदानपछि पनि मतपत्र च्यात्नेलाई प्रोत्साहन गर्ने बताए ।

भरतपुर महानगरपालिकाका २९ मध्ये २७ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ भने १९ नं वडाको मतगणना अन्तिम चरणमा पुग्दा राति ११ः४४ बजे मतपत्र च्यातिएको हो । वडा नं २० को मतगणना गर्न बाँकी रहेको छ ।

भरतपुर महानगरमा माओवादी केन्द्र र कांग्रेसको संयुक्त गठबन्धनबाट प्रमुख पदमा माओवादी केन्द्रकी रेणु दाहाल र एमालेका तर्फबाट देवीप्रसाद ज्ञवालीबीच कडा प्रतिस्पर्धा रहेको छ । रासस

प्रकाशित मिति : १५ जेष्ठ २०७४, सोमबार ००:००