१२ चैत्र २०८०, सोमबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुदीमा सडक पुर्याउन सात करोडको आयोजना सुरु



बाबियाचौर (म्याग्दी), धौलागिरि गाउँपालिका– ४ मा पर्ने म्याग्दीको विकट र दुर्गम मुदी गाउँलाई सडक सञ्जालसँग जोड्न रु सात करोडभन्दा बढी लागतको आयोजना सुरु भएको छ ।

मुदीलाई सडक सञ्जालसँग जोड्नका लागि ताकम–मुना–दर–मुदी सडक आयोजना निर्माण सुरु भएको हो । मुनादेखि मुदीसम्म जोड्ने पाँच किलोमिटर ५०० मिटर सडक निर्माणका लागि रु सात करोड २५ लाख लगानी हुने उपभोक्ता समितिका अध्यक्ष गणेश घर्ती पुनले बताए ।

चालु आवमा जिल्ला समन्वय समितिको विभिन्न तीन वटा शीर्षकमा रु ८२ लाख अनुदानमा मुनादेखि दर हुँदै मुदीतर्फ सडकको ट्याक खोल्ने काम तीव्ररुपमा अघि बढेको छ । मुना, दर हुँदै साविक मुना र मुदी गाविसको सीमा क्षेत्र धित छहरासम्म ट्याक खोलिएको छ ।

जिल्ला समन्वय समितिमार्फत स्थानीय पूर्वाधार यातायात कार्यक्रमको रु १२ लाख र गाविस जोड्ने सडक आयोजना शीर्षकको रु ३० लाख बजेट विनियोजन भएको सो योजनालाई अर्थ मन्त्रालयले थप रु ४० लाख बजेटको स्रोत सुनिश्चितता गरेको छ ।

उपभोक्ताले कुल लागतको १३ प्रतिशत बराबरको सहभागिता जनाउनुपर्नेछ । गत वर्ष रु दश लाखमा एक किलोमिटर ट्याक खोलिएको थियो । कडा चट्टानी पहाडमा सडक निर्माण गर्नु परेकाले धेरै खर्च हुने अध्यक्ष पुनले बताए । आगामी वर्ष मुदीसम्म सडक पुर्याउने लक्ष्यसहित आर्थिक स्रोत जुटाउन सरकारी निकाय र स्थानीय स्तरमा पहल गरिएको छ ।

सो सडक निर्माण भएमा मुदी, खिवाङ, नेरवाङ, बगर, नाउरा, चेचुङलगायत बस्तीका करिब एक हजार घरधुरी लाभान्वित हुने भएका छन् । स्थानीय बासिन्दा, धौलागिरि आरोहण र पदयात्रामा जाने पर्यटकलाई आवतजावतका साथै सामान ढुवानी र त्यहाँ उत्पादित कृषिउपज, जडीबुटी निकासी गर्न सहज हुने अपेक्षा गरिएको उपभोक्ता समितिका दलमान पुनले बताए । रासस

प्रकाशित मिति : १५ जेष्ठ २०७४, सोमबार ००:००