७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भक्तपुर र मध्यपुरथिमि समृद्ध नगर बनाइने नगरप्रमुखहरूको घोषणा



भक्तपुर, भक्तपुर र मध्यपुरथिमि नगरपालिकाका दुई नवनिर्वाचित नगरप्रमुखले यहाँका नगरलाई समृद्ध बनाउने घोषणा गरेका छन् ।

रफत सञ्चार क्लबले आइतबार आयोजना गरेको अन्तर्कृया कार्यक्रममा भक्तपुरका नगर प्रमुख सुनिल प्रजापतिले आगामी पाँच वर्षभित्र भक्तपुर नगरलाई सफा, सुन्दर र स्वच्छ नगर बनाइने बताउँदै यहाँको खानेपानी र सरसफाइको समस्यालाई पहिलो चरणमा समाधान गर्ने काम सुरु भइसकेको जानकारी दिए ।

खानेपानीको मुहानका रुपमा रहेको नगरकोटस्थित मुहान पोखरीको अवलोकन एवं ढल व्यवस्थित गर्न हनुमन्ते खोलाको अनुगमन गरिएको बताउँदै उनले सरोकार भएका निकायका कर्मचारीसँग छलफल गरेर काम अगाडि बढाइसकिएको बताए । हनुमन्ते खोला सफाइ गर्न हनुमानघाट र सल्लाघारीमा रहेका दुई पोखरीलाई जतिसक्दो छिटो सञ्चालनमा ल्याई ढललाई पोखरीमा राखेर सफा पानी मात्रै खोलामा पठाइने गरी व्यवस्थापन गर्न लागिएको बताए ।

भूकम्पले भत्काएको संरचना पुनःनिर्माणका लागि नगरपालिकाका उपप्रमुख रजनी जोशीलाई जिम्मेवारी दिइसकिएको छ । उनका अनुसार पुरातत्व विभाग र सरोकार वालाहरूसंग छलफल गरी पुनः निर्माणलाई तीव्र गति दिइने छ । भक्तपुर नगरमा जन्मेका नागरिकले शिशुस्याहारदेखि स्नातकोत्तर तहसम्म अध्ययन गर्न अन्यत्र जानु नपर्ने गरी शिक्षाको व्यवस्थापन गरिने छ । उनले नगरपालिकाले विश्वविद्यालय सञ्चालनका लागि सम्बन्धन पाएमा मेडिकल कलेजसमेत सञ्चालन गरेर अन्य कलेजभन्दा ५० प्रतिशत कम शुल्क लिइने बताए ।

त्यसैगरी भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रलाई २५ सैयाको अस्पतालका रुपमा विकास गरिने र भक्तपुरमा रहेका भक्तपुर अस्पताल, मानव अङ्ग प्रत्यारोपण केन्द्रलगायतलाई व्यवस्थित गरी सबै उपचार भक्तपुरमै हुने व्यवस्था गरिने उनको भनाइ थियो । उनका अनुसार सरकारी कार्यालय वा कुनै पनि निकायले नगरपालिकासँग स्वीकृत नलिई संरचना निर्माण गर्न नदिने र स्वीकृति नलिई निर्माण गरेका संरचना भत्काइने बताए ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुरलाई शैक्षिक केन्द्र बनाइने बताए । उनका अनुसार मध्यपुरका सरकारी र निजी विद्यालयसँग समन्वय गरेर यहाँका सरकारी विद्यालयको गुणस्तर वृद्धि गर्ने कार्यक्रम अगाडि सारिने छ । उनले नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री अस्पतालको नाम परिवर्तन गरिने बताउँदै भने, “मध्यपुर अस्पताललाई प्रविधि र जनशक्तिबाट पूर्ण बनाइने, चिकित्सकको टोलीलाई उपचारको जिम्मा दिइने र भक्तपुरका अन्य अस्पताल तथा पूर्वका अस्पतालबाट रिफर भएका बिरामी यस अस्पतालमा ल्याएर सफल उपचार गर्ने गरी व्यवस्थापन गर्ने तयारीका साथ अगाडि बढेका छौँ ।”

उनले नगरपालिकाले आफ्नै कलेजदेखि मेडिकल कलेज र नर्सिङ कलेजसम्म सञ्चालन गर्ने बताए । नगरलाई सफा राख्न सफाइ कर्मचारीको व्यवस्थापन गरिने, तरकारी उत्पादनको मुख्य क्षेत्र बनाइने र तरकारीको बजार व्यवस्थापन गरिने उनको योजना छ । हनुमन्ते र मनोहरा खोलामा करिडोरको विकास गरिने, नगरभित्र आन्तरिक चक्रपथको निर्माण गरिने, कला, संस्कृति र नाचको संरक्षण गर्न कोष बनाउने गरी कार्य थालिएको जानकारी पनि दिए । “जनताको काम बढीमा तीन दिनभित्र सम्पन्न गर्ने गरी जनताले परिवर्तनको अनुभूति गर्ने गरी काम गर्नेछु” नगरप्रमुख श्रेष्ठले भने । रासस

प्रकाशित मिति : १४ जेष्ठ २०७४, आइतबार ००:००