१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादी केन्द्रले उम्मेदवार छान्यो



सुरुङ्गा (झापा), नेकपा माओवादी केन्द्रले दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनौट गरेको छ । पार्टीको मङ्गलवार अपरान्ह बसेको जिल्ला कमिटीको बैठकले उम्मेदवार छनौट गरेको हो ।

बैठकबाट बिर्तामोड नगरपालिकाका लागि प्रमुख पदमा पार्टीका केन्द्रीय सदस्य तथा युवा नेता सिपी कडरिया र उपप्रमुखमा केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने सरुलाई छनौट गरेको छ । कडरिया विकासप्रेमी युवानेता मानिन्छन् । सरु अन्तरपार्टी महिला सञ्जाल झापाकी पूर्वअध्यक्ष हुन् ।

त्यस्तै, दमक नगरको प्रमुख पदमा पार्टीका क्षेत्रीय इञ्चार्ज गगन पुरी (रेवतराज)ले आफ्नो उम्मेदवारी दुई महिनाअघि नै घोषणा गरेका थिए । दमकको उपप्रमुख पदमा आदिवासी जनजाति महासङ्घकी केन्द्रीय सचिव शान्तिदेवी धिमाललाई चयन गरिएको छ ।

कमल नगरपालिकामा नेकपा माओवादी केन्द्रले अधिवक्ता विमल सङ्ग्रौलालाई प्रमुख र उपप्रमुखमा गौरी राईलाई चयन गरेको छ । यसैगरी, गौरादह नगरपालिकामा पार्टीका नगर इञ्चार्ज पुष्प ढकाललाई प्रमुख र अर्पना राजवंशीलाई उपप्रमुखका लागि छनौट गरेको पार्टीका नगर सहसंयोजक कुमार खतिवडाले जानकारी दिए ।

त्यस्तै, गौरीगञ्ज गाउँपालिकामा विद्यानन्दसिंह राजवशींलाई गाउँपालिकाको अध्यक्ष र कल्पना राईलाई उपाध्यक्ष पदको उम्मेदवार बनाउने बताइएको छ । शिवसताक्षी नगरपालिकामा अखिल क्रान्तिकारीका केन्द्रीय सचिव महेन्द्र भट्टराईलाई प्रमुखको उम्मेदवार छनौट गरिएको छ ।

यसैगरी, भद्रपुरको नगर प्रमुखमा शिवराज राजभण्डारी र उपप्रमुखमा स्वर्णिका सिंह, मेचीनगर नगरपालिकाको प्रमुखमा हंसलाल राजवंशी र उपप्रमुखमा इन्दिरा कार्की (आयुष), कचनकवल गाउँपालिकाको अध्यक्षमा हंसनारायण राजवंशी र उपाध्यक्षमा ईश्वरीमाया गाइने, झापा गाउँपालिकाको अध्यक्षमा रुद्र बजगाईं र शनिअर्जुन नगरपालिकाको प्रमुखमा भूपेन्द्र न्यौपाने र उपप्रमुखमा अस्मिता तामाङलाई दलको तर्फबाट उम्मेदवार छनौट गरिएको छ । रासस

प्रकाशित मिति : १० जेष्ठ २०७४, बुधबार ००:००