१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैंकबाट भत्ता लिने बृद्धबृद्धा भन्छन्ः पैसा बचत हुन्छ, ब्याज पनि पाउँदा खुशी छौँ



काभ्रे । जिल्लाको धुलिखेल नगरपालिकासहित सबै स्थानीय तहले बैंकबाट सामाजिक सुरक्षा भत्ता बितरण गर्न थालेका छन् ।

बैंकमार्फत कारोबार हुन थाले पछि भत्ता बितरण पारदर्शी भएको छ । साथै, बृद्धबृद्धाहरूले पैसा बचत हुन थालेको बताएका छन् । बचत गरेवापत बैंकबाट ब्याज पाए पछि खुशी भएका छन् ।

पनौती नगरपालिकाका लाभग्राही प्रेममाई तिमल्सिनाले बृद्ध भत्ताको रकम बचत हुन थालेको बताइन् । “भत्ता घरमै थाप्दा खर्च भइहाल्थ्यो । बचत हुँदैन थियो,” तिमल्सिनाले भनिन्, “ बैंकबाट भत्ता आउन थाले पछि बचत भएको छ । बैंकसम्म धाउन झन्झट भए पनि ब्याज पाउँदा खुशी छु ।”

पनौतीकै ७९ बर्षीय लीलाधर आचार्य पैसा बचत भएकोमा खुशी छन् । तर बैंकमा पुगेर घन्टौँ लाईन बस्नु पर्ने बाध्यताको अन्त्य गर्न आचार्यले नगरपालिकासँग अनुरोध गरेका छन् ।

“हामी बुढाबुढीहरुलाई बैकसम्म पुग्न पनि सकस हुन्छ,” आर्चायले भने, “पहिला घरमै आउने भत्ताका लागी बैंकसम्म पुग्नु पर्दा असहज लाग्छ । तर बैंकमा पैसा सुरक्षित हुने हुँदा खुशी पनि छु ।”

पनौतीकै शम्भु केसीले असहज महशुस भए पनि पैसा बचत गरेको बताए । “बैंकबाट भत्ता लिँदा तत्काल खर्च होला भन्ने नहुँदो रहेछ । बचत हुन्छ । चाहेको बेला निकाल्न सकिन्छ । तर घरमै पाइरहेको भत्ता लिन बैंकमा जानु पर्दा पहिलाभन्दा अहसज लाग्दो रहेछ,” केसीले भने ।

भत्ता वापतको बजेट विनियोजन गर्ने राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण निर्देशक लक्ष्मण ढकाल भने सुरूमा झन्झटिलो महशुस भए पनि बिस्तारै सजिलो महशुस हुने दाबी गर्छन् ।

“घरमै भत्ता थापिरहेको लाभग्राहीले बैंकसम्म पुग्नु पर्दा झन्झट महशुस गर्नु स्वभाविक हो । बिस्तारै बानी पर्दै जान्छ,” ढकाल भन्छन्, “बैंकसम्म पुग्न नसक्ने अशक्त लाभग्राहीहरू छन् भने सम्बन्धित वडाले समन्वय गरेर घरसम्म लैजाने वा परिवारका सदस्यहरू मार्फत भत्ता पु¥याउने व्यवस्था गर्न पनि सक्छन् ।”

यसैगरि धुलिखेल नगरपालिकाले भत्ता पाउने लाभग्राहीको लगतकट्टा गर्ने अभियान सुरू गरेको छ । मृत्यु भएका र बसाइँ सरेका लाभग्राहीको समयमै घटना दर्ता गरि लगत कट्टा गरिरहेको धुलिखेल नगरपालिकाका सामाजिक सुरक्षा भत्ता उपशाखाका प्रमुख गायत्रीरमण घिमिरेले बताए ।

यसै गरि लाभग्राहीले भत्ताको रकम बचत गर्ने र आवश्यक पर्दा मात्रै निकाल्ने परिपाटी बस्दै गएको घिमिरेले बताए । पहिले चौमासिक रुपमा बितरण हुने भत्ता त्रैमासिक रुपमा बितरण हुन थाले पछि भने लाभग्राहीहरू खुशी भएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार ००:००