काठमाडौँ, काठमाडौँ महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार नेकपा एमाले को अग्रता कायमै रहेको छ ।
एमालेका तर्फबाट प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले ४१ हजार ११५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका राजुराज जोशीले २९ हजार २३० मत प्राप्त गरेका छन् । यो जम्मा एक लाख २४ हजार ४५७ मत गणना हुँदाको परिणाम हो ।
त्यसैगरी, विवेकशील पार्टीका उम्मेदवार रञ्जु दर्शनाले १५ हजार १७२ मत प्राप्त गरेकी छन् भने साझा पार्टीका किशोर थापाले ११ हजार ४८५ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम डङ्गोलले चार हजार ५३८ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, उपप्रमुख पदमा कांग्रेसका उम्मेदवार हरिप्रभा खड्गीले ३७ हजार ७२३ मत प्राप्त गरेकी छन् । राप्रपाका उपप्रमुख पदका उम्मेदवार राजाराम श्रेष्ठले २२ हजार ४५६ मत प्राप्त गरेका छन् ।
माओवादी केन्द्रका उपप्रमुख पदमा सुशीला पौडेलले सात हजार ८६ र साझा पार्टीका निरुपमा यादवले सात हजार ३९२ मत प्राप्त गरेका छन् ।
महानगरमा ७० जनप्रतिनिधि चयन
गत वैशाख ३१ गते सम्पन्न निर्वाचनको मतगणनामा अहिलेसम्म काठमाडौँ महानगरपालिकाका १४ वडाको ७० जना जनप्रतिनिधि निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीका अनुसार अहिलेसम्म प्रमुख र उपप्रमुखसहित १६२ जनप्रतिनिधिमध्ये ७० मात्र निर्वाचित भएका छन् ।
यही जेठ १ गतेदेखि भएको मतगणनामा वडा नं १, २, ३, ५, १९, २२, २३, २४, २५, २६, २७, २८, २९ र ३० वडाको मतगणना सकिएको छ । परिणामअनुसार सात सातवटा वडामा नेपाली कांग्रेस र नेकपा एमालेका जनप्रतिनिधि निर्वाचित भएका छन् । कांग्रेसका ५, १९, २५, २६ २८, २९ र ३० तथा एमालेका १, २, ३, २२, २३, २४ र २७ वडामा विजय भएका छन् । ३२ वटा वडा रहेको काठमाडौँमा अझै १८ वटा वडाका जनप्रतिनिधि निर्वाचित हुन बाँकी रहेको छ । रासस
प्रतिक्रिया