१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चार दिन बित्दा पनि मतगणना अन्योलमा



भक्तपुर, चार दिनदेखि स्थगित चाँगुनारायण नगरपालिकाको मतगणना पुनःसञ्चालन गर्न मंगलबार बसेको सर्वपक्षीय बैठकबिना निष्कर्षमा टुङ्गिएपछि चाँगुनारायण नगरपालिकाको मतगणना अझै अन्योलमा छ ।

निर्वाचन अधिकृतको कार्यालय चाँगुनारायणका अनुसार निर्वाचन आयोगले पठाएको निर्देशनानुसार मतगणना प्रक्रिया पुनःसञ्चालन गर्नका लागि मंगलबार बसेको सर्वपक्षीय बैठकमा सहमति हुन नसकेपछि अझै मतगणना सुरु हुन नसकेको हो ।

प्रमुख निर्वाचन अधिकृत भोजराज शर्मा, प्रजिअ द्रोण पोखरेल, सबै दलका उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिको उपस्थितिमा मंगलबार चार घन्टा लामो छलफल भए पनि सहमति नभएको कार्यालयले जनाएको छ । गत शुक्रबार वडा नं ४ को मतगणना सम्पन्न गरी मत परिणाम सार्वजनिक गर्ने तयारी गर्दा कर्मचारीले मतगणना पारदर्शी नभएको र नेकपा एमालेको उम्मेदवारलाई मत थप गरेर जोडेको भन्दै एमालेबाहेकका अन्य दलले विरोध गरेपछि मतगणना रोकिएको थियो ।

निर्वाचन आयोगले सोमबार साँझ वडा नं १ र २ का हकमा पुन मतगणना हुन नसक्ने तर ३ र ४ का हकमा भने दलको सहमतिमा पुनःमतगणना गर्न सकिने भन्दै पत्र पठाएपछि मंगलबार बसेको बैठकमा दलबीच सहमति हुन नसकेको हो ।

मंगलबारको बैठकमा पनि एमालेबाहेकका दलले वडा नं ३ र ४ को मतगणना पुनः गर्नुपर्ने पुरानै मागमा अडान लिएको र एमालेले पुनः मतगणना गर्दा वडा नं १ देखि नै गर्नुपर्ने नत्र ३ र ४ मात्रै गन्न नदिने अडान लिएपछि चार घन्टा लामो छलफल निष्कर्षमा नपुगेको दलका प्रतिनिधिले जानकारी दिएका छन् । प्रजिअ द्रोण पोखरेलले दलबीच सहमतिको प्रयास जारी रहेको र मंगलबार नै पनि पुनः छलफल हुन सक्ने बताए । रासस

प्रकाशित मिति : ९ जेष्ठ २०७४, मंगलबार ००:००