८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाङको बङ्गलाचुली गाउँपालिकामा १५ शैय्याको अस्पताल सञ्चालनमा




तुलसीपुर । दाङको बङ्गलाचुली गाउँपालिकामा १५ शैय्याको अस्पताल सञ्चालनमा आएको छ । सरकारले प्रत्येक स्थानीय तहमा १५ शैय्याको अस्पताल सञ्चालनमा ल्याउने योजनाअनुसार गाउँपालिकाको केन्द्र कमिरेचौरमा रहेको काभ्रे स्वास्थ्यचौकीबाट अस्पतालको सेवा शुक्रबारदेखि शुरु गरिएको हो ।

अस्पतालको प्रदेशसभा सदस्य अमरबहादुर डाँगीको स्वास्थ्य जाँच गरेर मेडिकल अधिकृत वसन्त शाहले सेवा शुरु गरेका थिए ।

गाउँमै विशेषज्ञ सेवा प्रदान गर्नका लागि सरकारले प्रत्येक स्थानीय तहमा १५ शैय्याको अस्पताल बनाउने योजना अघि सारेको हो । गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीका अनुसार अस्पताल सञ्चालनका लागि गाउँपालिकाले आन्तरिक स्रोतबाट डाक्टर, स्वास्थ्य कर्मचारी करारमा राखेको छ । अपुग कर्मचारी काभ्रे स्वास्थ्यचौकीमा कार्यरत कर्मचारीलाई परिचालन गर्ने अध्यक्ष वलीले जानकारी दिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य डाँगीले जनताको आवश्यकताअनुसार सरकारले काम गरिरहेको बताए । ग्रामीण क्षेत्रमा पनि स्वास्थ्य सेवा दिनका लागि अहिले सरकारले यो अवधारणालाई अघि बढाएको समेत उनको भनाइ थियो ।

दाङको घोराही उपमहानगरपालिकामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान छ भने तुलसीपुर उपमहानगरपालिकामा राप्ती प्रादेशिक अस्पताल छ । ती बाहेक दाङका अन्य स्थानीय तहले भने १५ शैय्याको अस्पताल सञ्चालनमा ल्याएका छैनन् । रासस

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार ००:००