२८ चैत्र २०८०, बुधबार | Wed Apr 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नरैनापुर गाउँपालिकाः व्यवस्थित पेट्रोलपम्प नहुदा सिंगो गाउँ असुरक्षित



बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा एउटा पनि व्यवस्थित पेट्रोलपम्प छैन । तर, यहाँका घरैपिच्छे पेट्रोल खरीद बिक्री हुन्छ । घरघरै जर्किनमा पेट्रोल राख्ने प्रचलन रहिआएको छ । यसले कारोवार र आम्दानी त राम्रै भएको छ । तर, यहाँका प्रत्येक घर असुरक्षित बन्दै गइरहेका छन् ।

भर्खरै सडक विस्तार भएपछि यातायातका साधन बाक्लिँदै गएको नरैनापुर अहिले पनि बाँकेका अन्य स्थानीय तहको तुलनामा दुर्गम मानिदै आएको छ । यहाँ विकासका पूर्वाधार छैनन् । हुलाकी सडक भर्खरै जोडिँदै छ । विद्युत् पुगेको छैन । केही वडामा सोलार जडान गरिएको छ । सडक सञ्जालले जोडिएपछि यहाँ यातायात साधन बढेका छन् ।

तर, गाउँपालिकामै व्यवस्थित पेट्रोलपम्प छैन । गाउँमा सवारी साधन बढेसँगै तेलको माग हुन थालेपछि नरैनापुर–२ का ६३ वर्षे जेब्रिल खाँले पाँच वर्षदेखि घरमै पेट्रोल बेच्दै आएका छन् । तर, उनी आफैँ सुरक्षित महसुस भने गर्न नसकेको बताउछन् । “पेट्रोल राखिएको नजिकै ओछ्यान लगाएर सुत्छु”, उनले भने, “प्रायः त यहाँ पेट्रोल चोरी हुने गर्छ ।”

उनका अनुसार चोरी हुन नदिन पेट्रोल छेउमै सुत्ने अधिकांश व्यापारी कसैले रिसले आगो लगाइदिने हो कि भन्ने त्रासमा हुन्छन् । नरैनापुर–२ का ४० वर्षीय श्रीस बाबाले दुई वर्षदेखि पेट्रोल बेच्न थालेका छन् । एक लिटर पेट्रोलमा १० देखि २० सम्म नाफा देखेपछि यहाँका अधिकांश गाउँले पेट्रोल बिक्रीमा संलग्न भइरहेका छन् ।

यहाँ दैनिक १० देखि २० लिटर पेट्रोल बिक्री हुँदै आएको कारोवारमा संलग्नहरुको भनाइ छ । “आगोबाट जोगाउनु मुख्य चुनौती छ”, बाबाले भने, “ठूलै पम्प खोलेर व्यवस्थितरूपमा व्यापार गर्न लगानी छैन ।” खुलेआम पेट्रोल बेच्नु सिङ्गो गाउँ नै असुरक्षित हुनु हो । यस्तो अवस्थामा स्थानीय तह बढी सचेत हुनुपर्ने देखिएको छ ।

खुला पेट्रोल व्यापारले सबैभन्दा बढी खतरा आगलागीको हुने नेपाल आयल निगम बाँकेका प्रमुख नवविनोद पोखरेलले बताए । उनका अनुसार गुणस्तरीय पेट्रोल नपाउनु, मात्रामा घटी हुनुले ग्राहक ठगिने सम्भावना पनि उत्तिकै बढी हुन्छ । स्थानीय तह, प्रहरी प्रशासन र निगमले यस विषयमा जनचेतना फैलाउनु जरुरी रहेको उनको भनाइ छ ।

नरैनापुरमा खुलेआम पेट्रोल बिक्री वितरण भइरहँदा स्थानीय तह र प्रहरी प्रशासनले रोकथामका लागि भने यस विषयमा चासो देखाएको छैन । खुलेआम पेट्रोल बेच्दा बस्ती नै असुरक्षित भएको नरैनापुर इलाका प्रहरी कार्यालयका प्रमुख भूपालसिंह ठकुरीले बताए । तर, यसको रोकथामका लागि भने प्रहरी मौन बसिरहेको स्थानीयवासीको गुनासो छ ।

प्रशासनले खुलेआम पेट्रोल बेच्नेलाई रोक लगाउन निर्देशन दिए पनि प्रहरीको बेवास्ता र स्थानीय तह मौन बस्दा खुलेआम पेट्रोल बिक्री रोकथाम हुनसकेको छैन । नरैनापुरको सिङ्गो गाउँपालिकामै पेट्रोलपम्प नभएको गाउँपालिका अध्यक्ष मोहम्द इश्तियाक शाहले बताए । घरघरमा असुरक्षित पेट्रोल बिक्री नियन्त्रणको सम्भावना नभएको भन्दै उनले सुरक्षित बिक्रीका लागि सचेतना आवश्यक रहेको बताए । रासस

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहिबार ००:००