धु्रवसागर शर्मा
गलेश्वर । ऐतिहासिक, धार्मिक, जैविक र प्राकृतिक सुन्दरताका हिसाबले मात्रै होइन कृषि उत्पादनका दृष्टिले ताकम महत्वपूर्ण क्षेत्र हो । यस्तो ठाउँलाई उजिल्याएर देश विदेशमा परिचित गराउनका लागि यहाँका स्थानीयवासीले पहलकदमी थालेका छन् ।
पश्चिम म्याग्दीको धार्मिक तथा एतिहासिकस्थल ताकम कोतमा समुदायकै पहलमा ७० लाखको लागतमा निर्माण भएको कोत मन्दिरमा विभिन्न देवी देवताका २२ वटा मूर्ति प्रतिष्ठापन गरिएको छ । धौलागिरि गाउँपालिका ७ ताकमको शीरमा अवस्थित कोतमा बिहीबार पूजापाठ गरी धार्मिक विधिअनुसार जगन्नाथ, अन्नपूर्ण, शिव, राम, लक्ष्मणसहित विभिन्न २२ भगवन्को मूर्ति प्रतिष्ठापन गरिएको हो । पुरातात्विक महत्वका प्राचीनशैली र एतिहासिक महत्वलाई कायम राख्न ताकम कोतमा स्थानीयको पहलमा सङ्कलन भएको रकमले निर्माण गरिएको मन्दिरमा मूर्ति राखिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं वडाध्यक्ष कलानिधि सुवेदीले बताए ।
मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष तेजेन्द्र थापासहित स्थानीयवासी, सरोकारवाला निकायको उपस्थितिमा एतिहासिक मूर्तिलाई नयाँ मन्दिरमा स्थानान्तरसँगै पूजाआजा गरिएको थियो । ताकमकोत, जगन्नाथ अन्नपूर्ण मन्दिरको पुरानो स्वरुपलाई बाइसेचौबीसे राज्यका पालामा थापा राजाले २०० वर्ष राज्य सञ्चालन गरेको मन्दिरमा धौलागिरि र मालिका गाउँपालिकाबाट वर्षेनी पूजाआजा गर्ने गरिन्छ ।
समुद्री सतहदेखि दुई हजार ६०० मिटर उचाइमा अवस्थित मन्दिरबाट धौलागिरि, गुर्जा, चुरेन, पुथा, नीलगिरि, अन्नपूर्ण लगायतका हिमशृङ्खला, घना जङ्गल, ग्रामीण बस्तीको अवलोकन गर्न सकिन्छ । मन्दिरमा नवदुर्गा, जेष्ठी पूर्णिमा, मङ्सिर पूर्णिमा चैत्राष्टमीमा पूजाआजा र भाकल गरी बलि दिने गरिन्छ । कोत घरमा तोप, खुँडा, खुकुरी, ढाल, तरबार लगायतका ऐतिहासिक महत्वका हतियार, पुराना साम्रगी रहेका छन् ।
कोतमा सुरुङ्गा छेलोको खत, ओखल, गस्तीस्थल, पर्खाल, इँटा, बङ्कर, मन्दिर मूर्तिलगायत तत्कालीन समयमा दरबारको सुरक्षामा आवश्यक पर्ने गढी, किल्ला, तामाको आवाज आउने गल्छी, दमाह आकारको ढुङ्गा लगायत रहेका छन् । मूल मन्दिर निर्माण सकिएपछि बिहीबार धार्मिक विधिअनुसार जगन्नाथको मूर्ति प्राण प्रतिष्ठा गरिएको छ । पुनःनिर्माणका लागि मन्दिरका मूर्ति र कोतघरका हतियार नजिकैको सत्तलमा राखिएको थियो ।
बाजागाजा र क्षमापूजा गरेर धार्मिक विधिअनुसार सत्तलबाट मन्दिरमा मूर्ति सारिएको हो । धारापानी, ताकम, हिलापोखरी, शिवाङ, काफलडाँडा र मच्छिमका बासिन्दा तथा अगुवाको उपस्थितिमा मूर्र्ति सारिएको हो । मूर्र्ति सारिएपछि मन्दिरको मुख्य प्रवेशद्वारतर्फ जाने बाटोमा पर्ने सत्तल भत्काउन लागिएको निर्माण समितिका अध्यक्ष तेजेन्द्र थापाले बताए । सत्तल तर्फबाट मन्दिर छिर्ने सिँढी बनाउन लागिएको हो ।
कोत घरको रुपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाल लगायतका हातहतियार छन् । सुरुङ्ग, छेलोको खत, ओखल, गस्तीस्थल, पर्खाल, इँटा, बंकर, ओदान, मन्दिर, मूर्ति, फलामको छाता, माटाको शङ्ख, खानी, तामाका खड्कुला, कोइलाटा, गढी, किल्ला, तामाको आवाज आउने गल्छी, दमाहा स्वरुपको ढुङ्गा लगायत सामग्री छन् । ताकम कोत म्याग्दीको प्रमुख शक्तिपीठ मानिन्छ ।
विसं १२४६ मा स्थापना भएको मानिने ऐतिहासिक ताकम राज्य अहिले धौलागिरि गाउँपालिका ७ मा पर्दछ । तत्कालीन समयमा चार हजार पर्वत भनी मानिएको यो राज्यमा थापाहरूले ३०० वर्षसम्म शासन गरेका इतिहासमा उल्लेख छ । ताकम राज्य प्रथम थापा राजा कालु थापाले स्थापना गरेको मानिन्छ ।
विसं १५४५ सालमा कर्णाली प्रदेशका मल्ल राजा आनन्दबम मल्लका नाति डिम्बबम मल्लले थापाहरूलाई हराई ताकम राज्यलाई आफ्नो राज्यमा मिलाएर साविक धौलागिरि अञ्चलका सबै जिल्ला समेटिएको विशाल पर्वत राज्यको स्थापना गरेका थिए । त्यो समयमा म्याग्दी जिल्ला पर्वत राज्यको एक भागको रूपमा रहेको थियो । पर्वतमा मल्ल राजाका १४ पुस्ताले शासन गरेका थिए ।
रणबहादुर शाहको राज्य कालमा बहादुर शाहले पाल्पाली राजाको सहयोगमा पर्वतका राजालाई आत्मसमर्पण गर्न लगाई शक्तिशाली पर्वत राज्यलाई नेपालमा गाभेका थिए । एकीकरणपछि र राणा शासनकालमा म्याग्दी पाल्पा प्रशासनअन्र्तगत रहेको थियो । विसं १९८५ सालमा बागलुङमा छोटी गौडा स्थापना भएपछि प्रशासनिक तथा न्यायिक काम बागलुङबाट हुँदै आयो । विसं २०१८ सालमा जिल्ला विभाजनको क्रममा म्याग्दी जिल्ला भएको हो ।
म्याग्दीको नामकरणबारे केही प्रसङ्ग जोडिएका छन् । दुर्गा सप्तसतीमा वर्णित जयन्ती मङ्गलाकाली, भद्रकाली, कपालिनी भन्ने पद्यांशको देवी भगवतीका सय नाममध्ये एक मङ्गला नामबाट नै नदीको नाम रहेको र कालन्तरमा अपभ्रंश भई म्याग्दी रहन गएको इतिहासकारले उल्लेख गरेका छन् । यस्तो गर्विलो इतिहास बोकेको ताकम अहिले पनि उत्तिकै महत्वपूर्ण ठाउँको रुपमा जिल्लामा चिनिन्छ । रासस
प्रतिक्रिया