७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्नपूर्ण बेसक्याम्पमा आश्रयस्थल निर्माण



मंसिर १५, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने अन्नपूर्ण पहिलो हिमालको आधार शिविरमा आश्रयस्थल निर्माण भएको छ ।

८ हजार ८१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण तथा अवलोकनका लागि जाने पर्यटक, पर्यटक मजदुर र पदयात्रीलाई सुरक्षित बसोबासको सुविधा उपलब्ध गराउन नारच्याङबासीले आश्रयस्थल निर्माण गरेका हुन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को आर्थिक सहयोग र स्थानीयवासीको श्रमदान गरी १२ लाख रुपैयाँमा आश्रयस्थल निर्माण गरिएको संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए ।

समुन्द्री सतहदेखि ४ हजार ११० मिटरको उचाइमा रहेको बेसक्याम्पमा बनेको आश्रयस्थलको क्षत्रफल ३० मिटर लम्बाइ र १५ मिटर चौडाइ छ । विश्रामस्थलमा एक पटकमा करीब ६० जनाले आश्रय लिनसक्ने गुरुङले बताए ।

४ वर्ष लगाएर नारच्याङदेखि अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्ग निर्माण गरेका स्थानीयवासीले पदमार्गमा पर्ने विभिन्न स्थानमा झोलुङ्गे पुल, आश्रयस्थल निर्माण र प्रचारप्रसारमा जोड दिएका छन् ।

हाल नारच्याङदेखि दुई दिन पैदल हिँडेर पुगिने आधार शिविर नजिकैको निलगिरिखोला जलविद्युत् आयोजनाले निर्माण गरिरहेको सडक पुगेमा यात्रा अवधि र दूरी अझै छोटिने स्थानीयवासी मनबहादुर पुर्जाले बताए ।

पदमार्ग निर्माण गरेपछि आरोही र पर्यटक हेलिकप्टरबाट जानुपर्ने समस्या हटेको छ । यो अन्नपूर्ण आधार शिविर पुग्ने सबैभन्दा छोटो पदमार्ग भएको अध्यक्ष गुरुङले बताए ।

सूर्योदयले चम्केका सेताम्मे हिमाललाई आँखाले चौफेरो लगाउन पाउनु अन्नपूर्ण आधार शिविरको प्रमुख विशेषता हो । अग्ला पहाड हुँदै झर्ने झरना, जङ्गली जनावर, चराचुरुङ्गी, वनस्पती, जडीबुटी र मनमोहक हिमाल यो पदमार्गको थप आकर्षण हो ।

सामुदायिक भवन निर्माण

म्याग्दीको मालिका गाउँपालिका–६ दुखुबेँसीका बासिन्दाले स्थानीयस्तरमा आर्थिक स्रोत जुटाएर सामुदायिक भवन निर्माण गरेका छन् । दुखुबेँसीमा रहेको जनहित आमा समूहको अगुवाइमा सभाहलसहितको एकतले दुईकोठे भवन निर्माण भएको हो ।

स्थानीयवासीबाट करीब रु १८ लाख चन्दा सङ्कलन गरेर सरकारी निकायको सहयोगबिनै भवन निर्माण गरिएको आमा समूहकी अध्यक्ष डिलमाया पुनले बताइन् ।

भवन निर्माण गर्न स्थानीय टेकबहादुर रोकाले करीब डेढ रोपनी जग्गा दान गरेका थिए । भवन निर्माण भएपछि भेला, बैठक, तालीम, गोष्ठी र सांस्कृतिक कार्यक्रम आयोजना गर्न सहज भएको छ । व्यक्तिको आँगन र चौरमा बैठक बस्नुपर्ने समस्या हटेको छ ।

समुदाय परिचालनमार्फत सामुदायिक भवन निर्माण गरेर दुखुबँेसीवासीले विकासमा जनसहभागिताको नमूना प्रस्तुत गरेका स्थानीयवासीसमेत रहनुभएका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । रासस

प्रकाशित मिति : १५ मंसिर २०७५, शनिबार ००:००