२ पुस २०८२, बुधबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरतपुर महानगरपालिकाः हरियाली शहरका लागि वृक्षरोपण



 

भदौ १८, चितवन । भरतपुर महानगरपालिकाले नारायणगढ बजार क्षेत्रको सरसफाइ गरी वृक्षरोपण गर्ने कार्य आज सोमबारबाट शुरु गरेको छ ।

महानगरप्रमुख रेनु दाहालको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी, प्रहरी र स्थानीयको सहयोगमा बजार क्षेत्रमा वृक्षरोपण गरिएको हो । सडकलाई दुई तर्फी सञ्चालन गर्ने गरी बीचमा फुल रोप्न बनाइएको ठाउँमा वृक्षरोपण गरिएको हो ।

सो अवसरमा त्यहाँ रहेका विरुवालाई गोडमेल गरी नयाँ जातका विरुवा रोपिएको हो । कार्यक्रममा प्रमुख दाहालले भरतपुर महानगरलाई देशकै सफा र हरियाली महानगर बनाउँदै स्मार्ट सिटीको अवधारणालाई साकार पार्ने बताइन् ।

उनले भनिन्, “महानगरलाई सफा र हरियाली बनाउने अभियानमा हामी लागेका छौँ, स्मार्ट सिटीको परिकल्पनालाई साकार पार्न पनि सबैभन्दा पहिला नगर हरियाली र सफा हुनुपर्छ ।” भरतपुर महानगरपालिकालाई वातावरणमैत्री, हरियाली र सफा शहर बनाउन विभिन्न योजना ल्याएको बताइन् ।

भरतपुर महानगरका प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले नारायणगढ बजारबीच सडकको क्यारीमा सरसफाइसहित झण्डै ५०० विभिन्न प्रजातिका फूललगायतका विरुवा रोपिएको बताए ।

महानगरपालिका १ का वडाध्यक्ष जयराम श्रेष्ठले शहरलाई हरियाली बनाउनका लागि महानगरले अभियान चलाइरहेको र त्यही अभियानअन्तर्गत नारायणगढ बजारको सरसफाइ तथा विरुवा रोप्ने काम भएको बताए ।

महानगरको सरसफाइ अभियानमा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, सरसफाइमा लागेको वे ग्रुप, लायन्स क्लब अफ बागेश्वरी, विभिन्न सङ्घ संस्थालगायत सामाजिक अभियानकर्मी सहभागी थिए । अभियानलाई निरन्तरता दिने जनाइएको छ ।
रासस

प्रकाशित मिति : १८ भाद्र २०७५, सोमबार ००:००