४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभ्रेः पहिचान भएका भूकम्प लाभग्राही मध्ये १४ हजार जना अझै सम्झौता गर्न बाँकी



 

मङ्सिर ५, बनेपा । भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि काभ्रेपलाञ्चोक जिल्लामा पहिचान भएको भूकम्प लाभग्राहीमध्ये १४ हजार ६० जनाले अझै अनुदान सम्झौता गरेका छैनन् ।

भूकम्प पुनःनिर्माणको कार्यलाई थप गति दिनका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितले निजी आवास पुनःनिर्माण गर्नका लागि रकम बुझेर काम नगरी बसेकाहरुलाई पुस १५ गतेभित्रमा सम्बन्धित कार्यालयमा फिर्ता गर्न आह्वान गरिरहेका बेला पहिचान भएको लाभग्राहीमध्ये जिल्लाको १४ हजार ६० जना लाभग्राहीले भने अनुदान सम्झौता गर्न बाँकी देखिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख लोकनाथ रेग्मीका अनुसार लाभग्राहीको सूचीमा नाम परेकामध्ये कतिपयको अर्को स्थानमा बस्न योग्य घर भएका र नक्कली भूकम्पपीडित भएका कारण सम्झौता गर्न नआएको हुनसक्ने बताए ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणको गतिलाई तीव्रता दिनका लागि पछिल्लो समयमा पुनःसमयसीमा निर्धारणको सूचना जारी भएपछि काभ्रेपलाञ्चोकमा रकम लिएर घर निर्माण नगरेकाले कसरी रकम फिर्ता गर्ने भन्ने विषयमा बुझ्न आउनेको सङ्ख्या बढ्दै गएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ कार्यालयका प्रमुख लोकनाथ रेग्मीको भनाइ छ ।

‘‘सूचना प्रकाशन भएसँगै पछिल्लो अवस्थामा रकम फिर्ता कसरी गर्ने भनेर बुझ्न आउने र निजी आवास पुनःनिर्माणको काम अगाडि बढाउन भनेर बुझ्न आउनेको सङ्ख्या बढ्दै गएको छ’’ रेग्मीले भने, “हामीसँग पुनःनिर्माणको लागि रकम प्रसस्तै छ तर निर्माणको कार्यले सोचेजति गति लिन सकिरहेको छैन ।”

जिल्लामा कूल ९० हजार ४९७ जनाको सर्वेक्षण भएकामा ८२ हजार ८३३ जना लाभग्राहीको पहिचान भएको थियो । जसमध्ये ४५ हजार १५६ जनाले दोस्रो किस्ता लिएर घर निर्माण गरिरहेका छन् । त्यसमध्ये तेस्रो किस्ता लिनको सङ्ख्या २२ हजार २११ जना रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।

पुनःनिर्माणको लागि निर्माण सामग्री, दक्ष कामदारको अभाव र प्राविधिक नै समयमा उपलब्ध नभएपछि पुनःनिर्माणको काम प्रभावित भएको पाइएको छ । जिल्लामा हालसम्ममा ६८ हजार ७७३ जना लाभग्राहीले पहिलो किस्ता लिएका छन् ।

एकाइका अनुसार २५ हजार ११७ जनाले दर्ता भएका कूल गुनासोमध्ये २४ हजार ८४९ जनाले पुनरावलोकन गरिएकामा २१ हजार ५३८ जनाको गुनासो फछ्र्यौट भइसकेको छ ।

अनुदानबाट डिपिसी मात्र निर्माण

डाँडापारिस्थित महाभारत गाउँपालिकाका–१ गोकुलेधापका मदनबहादुर लुङ्गेलीले घर बनाउन डिपिसी मात्रै गरेर छाडेको एक वर्ष भयो । भूकम्पपीडितमा सूचीकृत लुङ्गेली आवास अनुदानको दोस्रो किस्ता लिएपछि एक वर्षदेखि चुपचाप देखिएका छन् ।

उनी भन्छन्, “निर्माण सामग्री ढुवानी पनि गर्न सकिएन, घरको डिपिसी बनाएको एक वर्षदेखि त्यतिकै बसेको छु, घर उचाल्नेबारे सोच्दै गरौँला ।” सो गाउँमा एक वर्षअघि भूकम्पपीडित राहत अनुदान दोस्रो किस्ता लिएर चुपचाप बस्ने लुङ्गेली मात्र हुन् ।

गोकुलेधापका अर्का शेरबहादुर मगरले भने, “मैले दोस्रो किस्ता लिएको एक वर्षभयो, निर्माण सामग्री पनि महँगो छ, म पनि त्यतिकै बसेको छु ।” यस गाउँमा भूकम्पपीडितका नाममा आवास अनुदान रकम लिनेमध्ये आधाजसो दोस्रो किस्ता बुझेर घर उचाल्ने सुरसारमा देखिएका छैनन्, उनीहरु चर्किएका कच्ची घर र टहरामै बसेका देखिन्छन् ।

अधिकांशले एक कोठे घर तथा केहीले साना दुई कोठा बनाउने गरी डिपिसी मात्रै गरी छाडेको देखिन्छ । सरकारको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत भूकम्पपीडितलाई आवास निर्माण अनुदानअन्तर्गत पहिलो किस्तामा डिपिसीसम्म गर्न ५० हजार तथा दास्रो किस्तामा एक लाख ५० हजार तथा घर निर्माण सम्पन्न भएपछि अन्तिम किस्तास्वरुप एक लाख दिने नीति छ ।

महाभारत गाउँपालिकाका–८ घर्तीछापमा पनि गोकुलेधापको जस्तै अवस्था देखिन्छ । स्थानीय रामबहादुर दर्लामीले भने, “यो गाउँमा डिपिसी गरी दोस्रो किस्ता लिएर यतिकै बस्ने थुपै्र छन्, किस्ता लिन मात्रै डिपिसी गरेको पनि सुनिन्छ ।” उनका अनुसार यस गाउँमा दोस्रो किस्ता बुझेर चुपचाप बस्ने करीब २० परिवार छन् ।

डिपिसी मात्रै गरेको स्थानमा घाँस तथा बिरुवा उम्रिएर छोपिन थालेपछि देख्न पनि मुस्किल छ । सरकारी अनुदानअनुसार घर निर्माण सकेर बस्न थालेका दर्लामी भन्छन्, “कतिपयको डिपिसी गरेको ठाउँमा फलामको डण्डी मात्रै ठडिएको देखिन्छ ।” उनका अनुसार छिमेकी गाउँका भूकम्पपीडितको अवस्था पनि उस्तै हो ।

महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्वाले डिपिसी गरी दोस्रो किस्ता लिएर घर बनाउन चासो नदिएको बारे गुनासो आएको बताए । उनले भने, “गाउँपालिका कार्यालयमार्फत सबै वडामा अनुगमन, निरीक्षण गर्ने योजना बनाउँदैछु, किस्ता खानका लागि मात्रै डिसिसी गरेको पाए, कारवाही गर्छु ।”

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कर्यान्वयन एकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जिमाली)का प्रमुख लोकनाथ रेग्मीले भूकम्पपीडितले काभे्रपलाञ्चोकका विभिन्न स्थानमा दोस्रो किस्ता लिएर चुपचाप बसेकोबारे खबर आएकाले आफ्ना प्राविधिकलाई त्यसबारे तथ्याङ्कसहितको जानकारी ल्याउन सर्कुलर गरिसकेको बताउछन् । एकाइका अनुसार जिल्लाका ६८ हजार ७७३ भूकम्पपीडित परिवारमध्ये हालसम्म ३२ प्रतिशतले घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता रकम लिइसकेका छन् ।
रासस

प्रकाशित मिति : ५ मंसिर २०७५, बुधबार ००:००