Logo

कुटानी पिसानीका रैथाने प्रविधि लोप हुँदै



ध्रुबसागर शर्मा

नेपाली ग्रामीण क्षेत्रमा प्राचीनकालदेखि नै अन्न कुटानी पिसानीका लागि प्रयोग हुँदै आएका परम्परागत रैथाने प्रविधि हुन थालेको छ ।

आधुनिक प्रविधि तर्फको बढ्दो आकर्षण र सुविधाभोगी प्रवृत्तिका कारण म्याग्दीको ग्रामीण क्षेत्रमा पनि त्यस्ता रैथाने प्रविधि लोप हुँदै गएका हुन् ।

परम्परागतरूपमा प्रयोग गरिँदै आएका घरेलु यन्त्र हराउँदै गएपछि ग्रामीण पहिचान पनि मेटिदै गएकामा सरोकारवाला चिन्तित छन् ।

बजारमा भित्रिएका कुटानी–पिसानीका आधुनिक प्रविधि र सुविधाभोगी प्रवृत्ति नै परम्परागत रैथाने प्रविधि लोप हुनुको कारण बनेका छन् ।

उखु पेलेर खुदो निकाल्ने, अमिलो पेलेर चुक बनाउने र तोरीबाट तेल निकाल्न प्रयोग गरिने परम्परागत घरेलु मेसिन ‘कोल’ गाउँमा नदेखिएको वर्षौं भइसकेको छ । अघिल्लो पुस्तासम्ममा उखु, अमिलो र तोरी पेल्नका लागि गाउँमा निर्विकल्प घरेलु यन्त्रको रूपमा रहेको कोल अहिले आएर म्याग्दीका ग्रामीण क्षेत्रमा विस्थापित भइसकेको छ ।

त्यसैगरी धान कुट्नका लागि प्रयोग हुने ढिकी र ओखल पनि विरलै देख्न पाइन्छन् । वर्षामा ओढ्ने सेउको ठाउँ अहिले प्लाष्टिकले ओगटेको छ । गाउँमा जाँतो प्रयोगकर्ता कोही छैनन् ।

आधुनिक प्रविधिको विकास हुनुअघि यस क्षेत्रमा दैनिक जीवनयापनका लागि अतिआवश्यक एवं निर्विकल्प परम्परागत साधन तेल पेल्ने कोल, उखु पेल्ने कोल, ढिकी, जाँतो, ओखल र पानीघट्ट लोप हँुदै गइरहेका छन् ।

करीब तीन दशक अगाडिसम्म निकै चलनचल्तीमा रहेका यी घरेलु यन्त्रको प्रयोग विस्तारै घट्दै गएपछि लोप हुन थालेका हुन् । विभिन्न आधुनिक यन्त्रको प्रयोगपछि म्याग्दीमा यी घरेलु मेसिन विस्थापनमा परेका सामाजिक विषयका अध्ययेता वातावरणविद् चन्द्रमणि सापकोटाले बताउनुभयो ।

घरेलु प्रविधिसँगै यहाँको मौलिक संस्कृति पनि धराशयी बन्दै जान थालेको छ । लोक संस्कृतिमा ख्याति कमाएको म्याग्दीका लोकबाजा खैजेडी, मादल, डम्फु, ढोलकी, सहनाइ र कर्नाल पनि हराउँदै जान थालेपछि यहाँको लोक संस्कृति पनि अपुरो बन्दै गएको लोकगायिका धनकुमारी थापा बताउनुुहुन्छ ।

यस क्षेत्रका बासिन्दाको परम्परागत सभ्यता र मौलिक संस्कृतिको प्रतीक घरेलु यन्त्र लोप हँुदै गएपछि मौलिक संस्कृतिसमेत प्रभावित भएको यस क्षेत्रका कलाकार बताउँछन् । घरेलु परम्परागत साधन लोप हँुदै गएपछि यस क्षेत्रको मौलिक सभ्यता नै सङ्कटमा परेका म्याग्दीका संस्कृतिविद् प्रकाश श्रेष्ठले बताए ।

“म्याग्दीका घरेलु मेसिनहरू हराइसके । हामी को हौँ, हाम्रो सभ्यता के हो रु भत्रे कुराको बोध गराउने यी चिजहरू नै हराएपछि हाम्रो मौलिक संस्कृति र सभ्यता पनि सङ्कटमा परेको छ,” श्रेष्ठले भने ।

स्थानीय स्रोत, साधन एवं स्थानीय सीपबाटै निर्माण गरिने घरेलु यन्त्रबाट यस क्षेत्रको परम्परागत जनजीवन, कला र सामाजिक अवस्थाका विषयमा अध्ययन गर्न सकिन्छ ।

“घरेलु प्रविधिको बनोट विशुद्ध हाम्रा पुर्खाको कला र सीप हो”, स्थानीय संस्कृतिको विषयमा जानकार लोकगायक कृष्ण पौडेलले भने, “घरेलु मेसिनको अध्ययनबाट अघिल्ला पुस्ताको आर्थिक, सामाजिक एवम् धार्मिक अवस्थाका विषयमा जानकारी हासिल गर्न सकिन्थ्यो ।”

“घरेलु मेसिन पूरै लोप भएपछि अबका पुस्ताका लागि यस क्षेत्रको साँस्कृतिक एवम् मानवीय सभ्यताका विषयमा अध्ययन गर्ने आधार रहने छैन,” पौडेलले भने, “बढ्दै गइरहेको पाश्चात्य साँस्कृतिक हस्तक्षेपका बीच हाम्रो मौलिक संस्कृति र सभ्यता हराउनेछ ।”

घरेलु मेसिनको प्रयोगबाट लाभदायक एवं गुणस्तरीय वस्तुको उत्पादन गर्न मिल्ने बेनीबजारका अविरकुमार श्रेष्ठ बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्