१० बैशाख २०८१, सोमबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

परिपक्व बन्दै रोल्पाका स्थानीय न्यायिक समिति



उमा केसी

पुस ५, रोल्पा । स्थानीय सरकारका न्यायिक समितिमा कतै बढी मुद्दा परेका छन् भने कतै निकै कम । पूर्वी रोल्पाको सुनछहरी गाउँपालिकाको न्यायिक समितिमा पहिलो एक वर्षमा दुईवटा मात्र उजुरी परेका थिए ।

ती मुद्दा पनि लेनदेन र बच्चाको हेरचाह नगरेको विषयका थिए । दुवै मुद्दामा मित्रापत्र गराइको जानकारी दिँदै समितिका संयोजक पवित्रा घर्तीले उजुरी नै कम भएपछि न्यायिक समितिको कामभन्दा अन्य काममा समय दिन पाइएको बताइन् ।

मगर समुदायको बाहुल्य क्षेत्र भएकाले उजुरी कम आएको हुनसक्ने अनुमान उहाँको थियो । “न्यायिक समितिमा उजुरी कम पर्नु भनेको समाजमा झैझगडा, द्वन्द्व कम हुनु हो”, संयोजक घर्तीले भनिन्, “दुर्गम ठाउँ भएकाले कतिपय नागरिकलाई गाउँपालिकाबाट न्याय पाइन्छ भन्ने थाहा नभएकाले उजुरी कम परेको हुनसक्छ ।”

सुनिल स्मृति गाउँपालिकामा परेका अधिकांश उजुरी कामका लागि विदेश गएका व्यक्तिका श्रीमतीले अर्को विवाह गरेको विषयका थिए । उक्त गाउँपालिकाको न्यायिक समिति संयोजक वागमती थापाका अनुसार पहिलो श्रीमानले विदेशमा श्रम गरेर पठाएको सम्पति कुम्ल्याएर श्रिमति अर्कै पुरुषसँग जाने प्रवृत्ति बढेको छ ।

बालविवाह, बहुविवाह तथा श्रीमान् श्रीमतीबीचको झैझगडाका उजुरी पनि आउने गरेकामा सबै विवाद मिलापत्रबाटै टुङ्ग्याउने गरिएको उनले बताईन् ।

थवाङ गाउँपालिकामा भने लेनदेनका उजुरी बढी देखिएका छन् । कागजविनै विश्वासका आधारमा लेनदेन गरेर पछि धोका खाएकाले उजुरी दिने गरेको न्यायिक समिति संयोजक रामकिरणी रोकाले बताइन् ।

“श्रीमान् श्रीमती बीचको झगडासम्बन्धी उजुरी गत बर्ष नै आएको थियो । अनुभवको कमीले विवाद मिलाउन सकिएन, उनले भनिन्, “न्यायसम्पादनको अनुभव बढ्दै गएपछि पुराना उजुरीहरू किनारा लागाई सकिएको छ ।” विवाद व्यवस्थापनमा अनुभवी व्यक्तिको समेत सहयोग लिने गरिएको उनले बताईन् ।

दक्षिण रोल्पाको रुन्टीगढी र पश्चिम रोल्पाको त्रिवेणी गाउँपालिकामा भने पानीका मुहानको विवादसम्बन्धी उजुरी बढी छन् । बस्तीको विस्तार तर पानीको स्रोत कम भएका कारण आफ्नो गाउँपालिकामा पानीका मुहानसम्बन्धी विवाद बढी आएको रुन्टीगढी गाउँपालिका न्यायिक समिति संयोजक छमाया पुनले बताइन् ।

त्रिवेणी गाउँपालिका न्यायिक समितिका संयोजक सावित्रा बुढाका अनुसार कार्यविधि बनाएरै सामान्य अदालती प्रक्रियाअनुसार विवाद निरुपण हुँदै आएको छ । जग्गा विवाद, खानेपानी विवाद, श्रीमान् श्रीमतीको झगडा, विद्यालयको विवादका विषयमा छलफल गरी मिलापत्र गराइएको उनले जानकारी दिइन् ।

परिवर्तन गाउँपालिकाको न्यायिक समिति संयोजक हितकुमारी बुढामगरका अनुसार सम्बन्ध बिच्छेदसम्बन्धी उजुरीमा दुवै पक्षलाई सम्झाइबुझाइ पुनर्मिलन गराउने गरिएको छ ।

समान्य प्रकृतिका घटना पारिवारिक विवाद र गाउँ–समाजमा परिरहने विवाद निरुपणको जिम्मा उक्त समितिलाई दिइएकाले कानून बमोजिम सम्भव भएसम्म मेलमिलापका लागि प्रयास गरिने नभए निर्णय नै गर्ने अधिकार उक्त समितिलाई दिइएको छ ।

प्रचलित कानून बमोजिम आफ्नो अधिकारक्षेत्र भित्र रहेर उक्त समितिले मेलमिलाप गराउने र निर्णय समेत दिने गर्दछ भने अधिकारक्षेत्र बाहिरका विवादमा भने तीन महीनाभित्र अदालत पठाउनुपर्ने प्रावधान छ ।

न्यायिक समितिले न्याय र कानूनका मूल्यमान्यता, प्राकृतिक न्यायको सिद्धान्त र सुनुवाइको अबसरजस्ता अनिवार्य सर्त पालना गरेर सामूहिक निर्णय गर्नुपर्ने हुन्छ । कानून र न्यायसम्बन्धी ज्ञान कम भएकाले स्थानीय सरकारका न्यायिक समितिलाई विगतमा कार्यसम्पादन गर्न समस्या परेको थियो ।

जिल्लास्थित महिला मानवअधिकार रक्षक सञ्जाल रोल्पाका अध्यक्ष तीर्था आचार्यले केही विवादमा आस्था, विचार, जात र भूगोलको आधारमा पनि निर्णय भएको गुनासो आएको बताईन् । न्यायिक समितिको संयोजकले साँच्चैको न्यायमूर्ति भएर न्यायसम्पादन गर्नुपर्नेमा उनको जोड छ । रासस

प्रकाशित मिति : ५ पुस २०७५, बिहिबार ००:००