२० आश्विन २०८१, आइतबार | Sun Oct 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा निःशुल्क ल्याब सेवा शुरु




बेझाड । सबै स्वास्थ्य संस्थामा ल्याब सेवा शुरु गर्ने रम्भा गाउँपालिका पाल्पा जिल्लाको पहिलो गाउँपालिका बनेको छ । बिरामीलाई मध्यनगर गर्दै स्वास्थ्य सेवाको दायरा फराकिलो बनाउन गाउँपालिकाभित्र रहेका सबै पाँच वडामा स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालनमा ल्याइएको हो ।

गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब, प्रसूति तथा गर्भ परीक्षण सेवा सञ्चालनमा आएको छ । पहिलो वर्ष रम्भा गाउँपालिका १ को हुँगी, ५ को ताहुँ र ३ को पिपलडाँडाबाट ल्याब सेवा शुरुआत गरिएको थियो । दोस्रो वर्ष वडा नं २ को फोक्सिङकोट र ४ को यसै आर्थिक वर्षको साउन २९ गते हुमिनमा ल्याब सेवा शुरु गरेपछि गाउँपालिकाका सबै वडामा ल्याबको पहुँच पुगेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

“गाउँपालिकाले ल्याब सेवा पुनःसञ्चालन गर्नका लागि कर्मचारी तथा आवश्यक पर्ने सामग्रीको पूरै प्रबन्ध गरेको छ, अब प्रसूति, गर्भपतन र ल्याब परीक्षण सेवाका लागि अन्यत्र बिरामी भौतारिनुपर्ने अवस्था छैन”, उनले भने । गाउँपालिकामा ल्याब सेवा नहुँदा बिरामीलाई सदरमुकाम तानसेन र स्याङ्जाको गल्याङलगायतका स्थानमा लगेर सेवा लिनुपर्ने बाध्यता थियो, अब यो सेवा वडा वडाबाटै प्रदान गर्न थालिएको अध्यक्ष भण्डारीले बताए । यसै आवदेखि गाउँपालिकाले ल्याब परीक्षण निःशुल्क गर्ने व्यवस्था मिलाएको छ ।

गाउँपालिकाको वडा नं १ मा हुँगी स्वास्थ्यचौकी, वडा नं २ मा फोक्सिङकोट स्वास्थ्यचौकी, ३ मा पिपलडाँडा स्वास्थ्यचौकी, सामुदायिक स्वास्थ्य एकाइ केन्द्र, वडा नं ४ मा हुमी स्वास्थ्यचौकी र वडा नं ५ मा ताहुँ प्राथमिक स्वास्थ्य केन्द्र, सामुदायिक स्वास्थ्य एकाइ केन्द्रमा गाउँपालिकाले ल्याब सेवा सञ्चालन गरेको छ ।

ल्याब सेवाको शुरुआत भएपछि स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको स्वास्थ्य शाखा संयोजक महेश आचार्यले बताए । “ल्याब परीक्षण सेवा निःशुल्क भएपछि बिरामीले अहिले नियमितरुपमा स्वास्थ्य परीक्षण गराउन थालेका छन्, यो कार्यक्रमले गरीब, विपन्न व्यक्तिलाई ठूलो राहत पुगेको छ”, उनले भने ।

यसअघि बिरामी बाहिर निजी स्वास्थ्य संस्थामा १०० देखि ५०० सम्म शुल्क तिरेर ल्याब परीक्षण गराउन बाध्य रहेका थिए । अब भने गाउँमै निःशुल्क ल्याब परीक्षण गराएर उपचार सेवा पाएपछि उत्साहित भएका छन् । रासस

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार ००:००