२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोपीडितका घर गाउँपालिकाले बनाइदिने




बागलुङ । तमानखोला गाउँपालिका ४ लाम्मेलामा पहिरोका कारण पूर्णरुपमा क्षति भएका घरको पुनर्निर्माण गाउँपालिकाले गरिदिने भएको छ ।

आज बसेको गाउँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको अध्यक्ष जोकलाल बुढाले बताए । “अन्यत्रबाट स्रोत जुटाएर भए पनि यही वर्षभित्र पहिरोपीडितका घर बनाउने योजना बनाएका छौँ”, उनले भने ।

आइतबार गएको पहिरोले पाँच घर पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् भने तीन घरमा आंशिक क्षति पुगेको छ । आंशिक क्षतितर्फ दुई घरलाई जनही दश हजार र बाँकी एक घरलाई पाँच हजार राहत रकम उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।

पहिरोले ओमबहादुर, शुभलाल, गमबहादुर, देवेन्द्र र बिर्ख श्रीपालीको घर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ भने कृष्णबहादुर, हेमलाल श्रीपाली लगायतको घरमा आंशिक क्षति पुगेको छ । अन्य छ घर पहिरोको जोखिममा छन् ।

यस्तै गाउँपालिकाले पहिरोमा परी ज्यान गुमाउने तीन जनाको परिवारलाई जनही एक लाखका दरले राहत रकम उपलब्ध गराउने भएको छ । घाइते तीन जनालाई जनही ५० हजार र सामान्य घाइते चार जनालाई जनही २० हजारका दरले राहत उपलब्ध गराउने निर्णय भएको अध्यक्ष बुढाले बताए ।

पहिरोमा परी स्थानीयवासी ४५ वर्षीया पञ्चकुमारी, ७० वर्षीया असरी र १२ वर्षीय प्रवीण श्रीपालीको ज्यान गएको थियो । गम्भीर घाइते भएका ओमबहादुर, राम र अनिल श्रीपालीको पोखरास्थित गण्डकी क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

पहिरोपीडित परिवारको राहतका लागि गाउँपालिकाको जनप्रतिनिधिहरुले एक महीनाको र कर्मचारीले पाँच दिन बराबरको तलबसमेत उपलब्ध गराउने भएका छन् । “विस्थापित परिवारलाई तत्कालै सुरक्षित ठाउँमा सारेका छौँ”, अध्यक्ष बुढाले भने, “पीडितको राहत र पुनर्स्थापनमा गाउँपालिकाले सघाउँछ ।”

सम्पत्ति क्षतिका आधारमा थप राहत रकम उपलब्ध गराउने योजना गाउँपालिकाको छ । पहिरोपीडित परिवारको राहतका लागि अभियानसमेत चलाइएको छ । रासस

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहिबार ००:००