बेझाड । पाल्पाको रम्भा गाउँपालिकालाई नमूना गाउँपालिकाका रुपमा विकास गरिँदैछ । विकासले क्रमिक रुपमा गति लिँदै अगाडि बढेको यस गाउँपालिकालाई जिल्लाकै अन्य गाउँपालिकाभन्दा नमूना गाउँपालिकाका रुपमा विकास गर्ने योजनाका साथ विभिन्न कार्यक्रम अगाडि बढाइँदैछ ।
नमूना गाउँपालिका बनाउन आर्थिक वर्ष २०७६÷७७ मा गाउँपालिकाले पूर्ण सरसफाइयुक्त, घरमै सुत्केरी हुने दरलाई शून्यमा पु¥याउने, खरको छानामुक्त गाउँपालिका, टुकिरहित उज्यालो गाउँपालिका, बालमैत्री र हरियाली गाउँपालिका घोषणा गर्ने गरी योजना निर्माण गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।
“सबै कार्यक्रमको लागि ५० देखि ९० प्रतिशत पूर्वाधार पूरा भएको र अन्य पूर्वाधारका लागि आजैदेखि कार्यान्वयनमा लागेका छौँ” अध्यक्ष भण्डारीले भने । गाउँपालिकाले शिक्षा क्षेत्रमा ७० लाख १० हजार, स्वास्थ्यमा ३३ लाख ५० हजार, कृषितर्फ ९६ लाख, बालबालिकातर्फ ७० लाख, लक्षित वर्गको लागि ८७ लाख ५० हजार रकम विनियोजन गरेको छ ।
दूध र मासुमा आत्मनिर्भर हुने गरी किसान केन्द्रित कार्यक्रम ल्याएको छ । विद्यालयमा दिवा खाजा कार्यक्रमदेखि शिक्षक तालीमजस्ता कार्यक्रम गाउँपालिकाले नीति तथा बजेटमा समावेश गरेको छ ।
गतवर्ष ४४ किलोमिटर नयाँ सडक, १०९ किलोमिटर स्तरोन्नति, ८५० वटा नयाँ खानेपानीको धारा वितरण गरेको छ । १६३ जनालाई विशिष्ट तहको तालीम प्रदान गरी अधिकांश युवा स्वदेशमै रोजगारीमा लागेका छन् ।
छुवाछुतमुक्त गाउँपालिका बनाउन दलित र गैर दलित सहभागी संयुक्त अन्तरक्रिया कार्यक्रम गर्ने, दाइजो प्रथालाई पूर्णरुपमा निष्क्रिय बनाउने कार्यक्रम गाउँपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले महत्वाकांक्षी योजनासहित चालु आर्थिक वर्षको लागि ४० करोड २२ लाख १९ हजार बराबरको नीति कार्यक्रम तथा बजेट ल्याएको प्रवक्ता कृष्णप्रसाद रेग्मीले जानकारी दिए ।
नेपालकै उत्कृष्ट एक सय पर्यटकीय गन्तव्यस्थलका रुपमा सूचीकृत भएको रम्भादेवी मन्दिर, पर्यटकीय रिमिघा लेक यसै गाउँपालिकामा पर्छ । यी क्षेत्रमा पर्यटक बढाउन गाउँपालिकाले पूर्वाधार विकासमा जोड दिएको छ ।
दुई वर्षमा गाउँपालिकाले सडक पूर्वाधार, खानेपानी, शिक्षा, रोजगार, ज्येष्ठ नागरिक संरक्षण जस्ता विभिन्न कार्यक्रम गर्न सफल भएको छ । सडक समस्याको रुपमा रहेको यस गाउँपालिकामा सडक सञ्जालले गाउँपालिकाको केन्द्रसम्म जोडिन पुगेपछि विकासले गति लिएको स्थानीयवासी बताउँछन् । रासस
प्रतिक्रिया