५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालगञ्जलाई ‘महानगरपालिका’ बनाउने प्रक्रियामा ढिलाइ




नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकालाई ‘महानगरपालिका’ बनाउने प्रक्रियामा ढिलाइ भएको छ । “यो राजनीतिसँग पनि जोडिएको विषय भएकाले ढिलो हुनु स्वाभाविक हो । केही समयभित्रै हामी पुनः प्रयास थाल्ने छौँ”, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले भने ।

महानगरपालिका बनाउन आवश्यक भौतिक पूर्वाधार, भौगोलिक क्षेत्र, जनसङ्ख्या लगायतका आवश्यक विषयमा छलफल भने भइरहेको उनले बताए । महानगरपालिकाको सम्भाव्यता अध्ययन तथा अन्य कामका लागि नगरसभाबाट २५ लाख बजेट पनि छुट्याइएको छ ।

प्रदेश नं ५ सरकारले महानगरपालिकाका लागि सारेको अवधारणाका आधारमा नेपालगञ्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाउन सम्भाव्यता अध्ययन शुरु गरिएको थियो । तर, शुरुको एक वर्ष केही काम गर्न खोजेकोजस्तो देखिए पनि अहिले आएर यसको गति निकै सुस्त देखिएको छ ।

नगरप्रमुख धवलशम्शेर राणाका अनुसार, प्रदेश नं ५ सरकारले बुटवल र भैरहवा, तुलसीपुर र घोराही र नेपालगञ्ज, कोहलपुर र खजुरालाई मिलाएर तीन महानगरपालिका बनाउने अवधारणा अघि सारेको छ । “आगामी स्थानीय तहको निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकालाई हामी महानगरपालिका बनाइसक्ने गरी सबै पूर्वाधार जुटाइसक्छौँ”, नगरप्रमुख राणाले भने ।

नेपालगञ्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाउन बाँके जिल्लाको कोहलपुर नगरपालिका, बैजनाथ, खजुरा, जानकी र डुडुवा गाउँपालिकालाई गाभ्ने योजना रहेको छ । रासस

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहिबार ००:००