सल्यान । कपुरकोट गाउँपालिकामा सुत्केरीलाई पोषण भत्ता र बालबालिकालाई पोसाक तथा झोला वितरण गरिएको छ । आज कपुरकोट गाउँपालिका ५ रिमले वडाभित्रका ९० जना सुत्केरी महिलालाई पोषण भत्ता वितरण गरिएको हो ।
सुत्केरी आमालाई पोषणको मात्रा पु¥याउनका लागि वडा कार्यालयले सुनौला हजार दिनभित्रका आमालाई जनही एक हजार ३०० का दरले पोषणभत्ता वितरण गरेको हो । पोषक तत्व कमी भएका सुत्केरी महिलालाई पोषण तत्व पूरा गर्नका लागि वडा कार्यालयले भत्ता वितरण गरेको वडाध्यक्ष यम कुमार बस्नेतले जानकारी दिए ।
“पोषिलो खानेकुराको अभावमा समस्या झेलिरहेका सुत्केरी महिला तथा शिशुको पोषणमा सुधार ल्याउनका लागि भत्ता वितरण गरेका हौँ”, वडाध्यक्ष बस्नेतले भने । भत्ता बुझेपछि सुत्केरी महिला खुशी भएका छन् ।
आफूलाई दिएको भत्ताले स्थानीय जातका कुखुरा पालेर अण्डा तथा मासु प्रयोग गर्ने कपुरकोट ५ रिमकी सुत्केरी महिला पूर्णिमा रानाले बताइन् । आफूहरुलाई दिएको भत्ताले पोषिला खानेकुरा उत्पादन गर्ने रिम मिलन बजारकी आस्था विकले बताए । “वडा कार्यालयमा बोलाएर पोषकतत्वका बारेमा जानकारी दिनुभयो । अब यही पैसाले केही न केही गरेर पोषिलो खानेकुरा उत्पादन गर्छु”, आस्थाले भनिन् ।
वडा कार्यालयले आफ्नो वडाभित्रका पाँच वटा सामुदायिक विद्यालयका एक सय विपन्न बालबालिकालाई पोसाक र शैक्षिक सामग्री पनि वितरण गरेको छ । बालबालिकालाई विद्यालय पोसाक, झोला तथा कापीकलम गरी ५० हजार बराबरको सहयोग गरेको वडाध्यक्ष बस्नेतले बताए । आर्थिक अभावका कारण विद्यालयमा आएर पनि कापी, कलम तथा विद्यालय पोसाकको जोहो गर्न नसक्ने बालबालिकालाई सहयोग गरिएको उनको भनाइ छ । रासस
प्रतिक्रिया