२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ढोरपाटन नगरपालिकाः व्यावसायिक कृषिमा जोड



असार २०, बलेवा । बागलुङको ढोरपाटन नगरपालिकाले आगामी आर्थिक वर्षमा कृषिलाई प्राथमिकतामा राखेर आफ्ना कार्यक्रम सञ्चालन गर्ने भएको छ । आर्थिक समृद्धिको पहिलो आधार कृषिलाई बनाउने भन्दै नगरपालिकाले कृषकलाई अनुदानदेखि सामूहिक उत्पादनसम्ममा जोड दिने भएको हो ।

कृषि उत्पादनमा व्यवसायीकरण, आधुनिकीकरण, यान्त्रिकीकरण तथा बजारीकरणमा ध्यान दिइने नगरपालिकाको नीति बमोजिम आगामी आर्थिक वर्ष कृषिमा व्यापक सुधार गरिनेमा जोड दिँदै नगरपालिकाले सोहीअनुसार बजेट व्यवस्थापन गर्ने प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले जानकारी दिए ।

किसानलाई व्यावसायिक बनाउनका लागि कृषि बजार सूचनाको व्यवस्थापन, कृषि बजार स्थापना, साना सिँचाइ आयोजना सञ्चालन, कृषि तालीम तथा प्रविधि प्रचारप्रसारका कार्यक्रम, कृषकलाई कृषि सामग्री आपूर्ति, कृषि मेला आयोजना, उत्कृष्ट किसान प्रोत्साहन, नगरभित्र कृषि सूचना केन्द्र सञ्चालन र कृषि पाठशालासमेत सञ्चालन गर्ने कार्यक्रम बनाइएको उनले बताए ।

नगरपालिकाले किसानका लागि आवश्यक सबैखाले पूर्वाधार निर्माणमा जोड दिएको छ । किसानले उत्पादन गरेको कृषिउपज भण्डारण तथा शीतभण्डार गर्ने भएको छ । कृषकका उत्पादनस्थलसम्म कृषि सडक पु¥याउने, कृषिउपजमा उत्पन्न हुनसक्ने समस्या निराकरणको उपायसहितको कार्यक्रम तयार गर्ने भएको छ । नगरको मुख्य उत्पादनका रुपमा रहेको आलुलाई प्रवर्द्धन गरिने र आलुबाहेकका नगदेबाली, फलफूल र तरकारी उत्पादनमा समेत जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

भूगोल र हावापानी हेरी आवश्यकता र मागका आधारमा कृषकका लागि बीउ, मल, किटनाशक औषधि र तालीमको प्रबन्ध गरिदिने, मासु तथा दुग्धजन्य वस्तु उत्पादनका लागि आवश्यक पशुपक्षी र चौपाया पालनका लागि सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउने नगरका सबै वडामा कृषि सहकारी र हरेक गाउँमा कृषक समूह निर्माण गर्ने नगरपालिकाले नीति ल्याएको छ ।

तरकारी तथा अन्नबाली उत्पादनमा प्राङ्गारिक उत्पादनमा जोड दिइएको छ । दुग्ध उत्पादनमा लाग्ने कृषकलाई अनुदानको व्यवस्था, पशु नश्ल सुधार कार्यक्रम तथा नगरपालिकाभित्र रहेका एग्रो फर्म, भेटेनरी फर्मलाई अनिवार्य दर्ताको व्यवस्था, कृषि तथा पशु बीमाको व्यवस्था गर्ने नगरपालिकाले नीति पारित गरेको छ । रासस

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार ००:००