१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचन उत्साह जनक र शान्तिपूर्ण रह्यो – जियोक



काठमाडौं, आम निर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रदेश नं ३, ४ र ६ का ३४ वटा जिल्लामा भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा जनताको उत्साहजनक सहभागिता रहेको निष्कर्ष निकालेको छ ।

सबै मतदान केन्द्रमा खटिएका जियोकका पर्यवेक्षकले दिएको प्रारम्भिक प्रतिवेदनका आधारमा स्थानीय तहको पहिलो चरणको निर्वाचन केही स्थानमा भएका छिटफुट घटनाबाहेक शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको उक्त संस्थाले प्रेस विज्ञप्तिमार्फत प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको हो ।

चौतीस जिल्लाका २८३ स्थानीय तहको निर्वाचनमा छ हजार ६४२ मतदान केन्द्रको व्यवस्था गरिएको तर कतिपय जिल्लाका मतदान केन्द्र टाढा भएका कारण मतदातालाई घन्टौसम्म हिँड्नुपरेको थियो ।

अधिकांश जिल्लामा बिहान सबेरैदेखि मतदाता मतदान गर्न उपस्थित भई मतदान गरेको कारण अपरान्ह मतदान गर्नेको चाप कम भएको थियो । चुनाव प्रसारप्रसारका क्रममा चारदिन अघि दोलखामा कुलबहादुर तामाङ र मतदानको दिन मेजुङ गाउँपालिकाको शक्तिश्वर मावि मतदान केन्द्रमा नकुल भुजेलको मृत्युको घटनालाई उक्त संस्थाले दुःखद रुपमा रहेको भनेको छ ।

निर्वाचनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीले समन्वयका साथ जिम्मेवारी निर्वाह गरेको पनि उक्त संस्थाले जनाएको छ ।

निर्वाचन आचारसंहिताको पालना समग्र रुपमा सन्तोषजनक नै रहेको पाइयो भने केही स्थानमा आचारसंहिता उलङ्घनका सङ्केत देखिएको जनाएको छ । उम्मेदवारको सङ्ख्याको तुलनामा मतपत्र अत्यधिक ठूलो भएको, सम्बन्धित स्थानीय तहका लागि हुन गएको निर्वाचनबाट पदपूर्ति हुने पदको लागि कायम रहेको उम्मेदवारबाहेकको अप्रासङ्गिक निर्वाचन चिन्हहरु समेत समावेश गरिएको भद्दा रहेको सो संस्थाका अध्यक्ष हिमालय शम्शेर राणाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

जियोकले राष्ट्रिय, जिल्ला, नगर र गाउँपालिकाका २९० गरी पर्यवेक्षक खटाएको थियो । रासस

प्रकाशित मिति : १ जेष्ठ २०७४, सोमबार ००:००