चैत २१, हेटौँडा । प्रदेश नं ३ को हेटौँडा उपमहानगरपालिकाले गत वर्षको तुलनामा १५ प्रतिशतले आन्तरिक आय वृद्धि गरेको पाइएको छ । उपमहानगरपालिकाको चौथो नगरसभाका अवसरमा प्रस्तुत प्रतिवेदनमा आन्तरिक आयमा वृद्धि भएको पाइएको हो ।
उक्त वृद्धिदरलाई आधार मान्दा चालू आर्थिक वर्षको अन्त्यसम्ममा उपमहानगरपालिकाले आन्तरिक आयमा गत वर्षको सङ्कलनमा १० करोड थप गर्ने देखिएको छ । उपमहानगरले चालू आर्थिक वर्षको हालसम्म २२ करोड ६० लाख आम्दानी गर्न सफल भएको छ ।
आन्तरिक आयमा १० करोडले वृद्धि हुने अनुमान गरिएको उपप्रमुख मीना लामाले जानकारी दिइन् । उनका अनुसार आन्तरिक आयमा वृद्धिसँगै नगरको साविक बजेटमा वृद्धि भएर एक अर्ब ७७ करोड पुगेको छ । चालू वर्षको अन्त्यसम्ममा उपमहानगरपालिकाको आम्दानी एक अर्ब ८७ करोड हुने अनुमान गरिएको उपप्रमुख लामाले बताइन् ।
उक्त रकम चालू आवमा स्वीकृत भएको रकमभन्दा १५ प्रतिशत अर्थात् २४ करोड ६२ लाखले बढी हो । नदीजन्य पदार्थ, विज्ञापनकर, पूर्वाधार मर्मतसम्भार, सार्वजनिक शौचालय, सिमेन्ट निकासी कर लगायतका क्षेत्रबाट बढी राजश्व सङ्कलन भएको छ ।
चालू आवको हालसम्म भौतिक पूर्वाधारका ३८९ योजना सम्झौता भएर सञ्चालनमा आएका छन् । ती मध्ये २०५ योजना सम्पन्न भइसकेका छन् भने १८४ योजना निर्माणाधीन अवस्थामा रहेको उपप्रमुख लामाको भनाइ छ । रासस


प्रतिक्रिया