८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अपेक्षा भन्दा बढी मतदान हुन्छः प्रधानमन्त्री



चितवन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ७ बजेर ८ मिनेट जाँदा भरतपुर महानगरपालिका वडा नं ४ स्थित लक्ष्मी मावि लङ्कुको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका छन् ।

मतदानपछि प्रतिक्रिया दिँदै दाहालले नेपालमा पहिलोपटक अधिकार सम्पन्न स्थानीय तहको निर्वाचन आज सम्पन्न हुन लागेकाले जनतामा निकै ठूलो उत्साह रहेको बताए । उनले भने, “यो ऐतिहासिक निर्वाचन भएको हुनाले व्यापक रुपमा मतदानमा सहभागी हुन हिजो नै अपिल गरेको छु । आज जे देखिएको छ, सबैतिर उत्साहपूर्वक अपेक्षाभन्दा बढी नै मतदान हुन्छ भन्ने मलाई विश्वास छ ।”

पत्रकारहरुको एक प्रश्नमा उनले नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको तालमेलअनुसार नै आफूले मतदान गरेको बताए ।

मतदानका लागि उनी शनिबार परिवारसहित यहाँ आएका हुन् । उनकी छोरी रेणु दाहाल र गङ्गा दाहालले पनि सोही केन्द्रबाट मतदान गरेका छन् । श्रीमती सीता दाहालको भने शिवनगरस्थित निमावि शान्तिपुरमा केन्द्र परेकाले केहीबेरमा मतदान गर्दै छिन् ।

माओवादी केन्द्रका अनुशासन विभागका अध्यक्ष अमिक शेरचनले महानगरको वडा नं २६ को दिव्यनगर मावि मतदान केन्द्रबाट मतदान गर्दै छन् ।

यसैगरी महानगरको वडा नं २७ जानकी मावि केन्द्रबाट राप्रपाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले मतदान गर्दै छन् । जिल्लाको अर्को नगरपालिका राप्ती नगरपालिकाबाट नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले मतदान गर्दै छन् । उनले वडा नं ५ को हेल्थपोष्ट भवन भण्डारा केन्द्रबाट मतदान गर्नेछन् । एमालेकै पोलिटब्युरो सदस्य काशीनाथ अधिकारीले रत्ननगर नगरपालिकाको वडा नं ९ कपरफोरी केन्द्रबाट मतदान गर्दै छन् ।

यसैगरी जनमोर्चा नेपालका केन्द्रीय अध्यक्ष साध्यबहादुर भण्डारीले भरतपुर महानगरपालिका वडा नं १ को बालकुमारी कन्या स्कुल केन्द्रबाट मतदान गर्दै छन् ।

जिल्लामा सात प्रमुख पदमा ६९ र उपप्रमुख पदमा ५५ जनाले उम्मेदवारी परेको छ । जिल्लामा कुल मतदाता तीन लाख १३ हजार दुई रहेका छन् । जिल्लाका ५०४ पदका लागि निर्वाचन हुँदैछ । जसका लागि दुई हजार २०३ जनाको उम्मेदवारी परेको छ । रासस

प्रकाशित मिति : ३१ बैशाख २०७४, आइतबार ००:००