१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दूरदराजमा बैंक पुगेपछि बैंकिङ कारोवार सहज



फागुन २४, घोराही । पछिल्लो समय स्थानीय तहमा बैंकिङ सेवा पुगेपछि वर्षौँदेखि सहज बैंकिङ सेवाबाट विमुख पश्चिम दाङका स्थानीयवासीलाई बैंकिङ कारोवार सहज भएको छ ।

दाङको पश्चिममा पर्ने दङ्गीशरण गाउँपालिकामा एनसिसी बैंक, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड, बबई गाउँपालिकामा नेपाल बङ्गलादेश बैँक, भार्गव विकास बैंक, वेष्टर्न डेभलपमेन्ट बैंक र शान्तिनगर गाउँपालिकामा इन्भेष्टमेन्ट बैंकका शाखा स्थापना भएका छन् ।

स्थानीय तहमै बैंक स्थापना भएपछि सरकारी तथा निजी कार्यालयलाई मात्र नभएर व्यक्तिगत कामका लागि पनि सहयोग पुगेको दङ्गीशरण–४ मा रहेको सती बचत तथा ऋण सहकारी सस्ंथाकी अध्यक्ष वसन्ती वलीले बताइन् । “गाउँ ठाउँमै बैंक स्थापना भएपछि हामीलाई टाढा जानुपर्ने बाध्यता हटेको छ” उनले भनिन्, “अहिले बैंकसँगको कारोवार आफ्नै गाउँमा हुने गरेको छ ।”

यस्तै गाउँपालिकाले उपभोक्ता समितिमार्फत सञ्चालन गर्नुपर्ने योजनाका लागि खाता खोल्ने काम लामो दूरीको यात्रा तय गरी तुलसीपुर वा घोराही बजार पुग्नुपर्ने बाध्यता टरेको दङ्गीशरण गाउँपालिका अध्यक्ष भागिराम चौधरी बताउछन् । अहिले कार्यालय नजीकै बैंक स्थापना भएपछि कामकाजमा धेरै सहज भएको अध्यक्ष चौधरीको अनुभव छ ।

बैंक स्थापना भएपछि गाउँमा पुगेको गाउँपालिका र वडा कार्यालयका कर्मचारीलाई समेत सहज भएको छ । बैंककै कारण सरकारी खाता सञ्चालन गर्न सजिलो भएको दङ्गीशरण गाउँपालिका महिला तथा बालबालिका शाखाकी कर्मचारी चन्द्रा वलीले बताइन् । “स्थानीय तहमै बैंक छ, नजीकै भएकाले आवश्यकता अनुसार काम पूरा भएको छ,” उनको भनाइ छ ।

गाउँपालिकाको कार्यालय नजीक बैंक स्थापना भएपछि विद्यालयको खातासमेत एनसिसी बैंकमा खोलेको वीरेन्द्र माविका प्रधानाध्यापक खिमराज खनालले बताए । बैंकमा अहिले खाता खोल्ने, बचत, ऋण निकाल्ने र विदेशबाट पैसा आउने सेवा दिइरहेको बैंकले बताएको छ ।

पश्चिम दाङमा सबैभन्दा विकट क्षेत्रका रूपमा मानिने शान्तिनगर गाउँपालिकामा इन्भेष्टमेन्ट बैंक खुलिसकेको छ । यसले शान्तिनगरका जनतालाई तुलसीपुर धाउनुपर्ने बाध्यता हटेको गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताए ।

यस्तै बबई गाउँपालिकामा पनि बैंक स्थापना भएकाले बैंकसँग हुने सम्पूर्ण कारोवार गर्न सहज भएको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले बताए । सरकारले २०७४ सालको साउन महीनामै सबै स्थानीय तहमा बैंक पु¥याउने घोषणा गरेको थियो । रासस

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार ००:००