६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तातोपानी गाउँपालिकामा खस भाषामा आधारित पाठ्यक्रम



उपेन्द्र न्यौपाने

फागुन २२, सिञ्जा । जुम्लाको तातोपानी गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाउन थालेको छ । जिल्लाका आठ स्थानीय तह मध्ये पहिलोपटक तातोपानीले स्थानीय खस भाषामा पठनपाठन गर्ने भएको हो ।

अहिले पाठ्यपुस्तक निर्माण कार्य भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले पाठ्यपुस्तक निर्माण गर्ने काम भइरहेको बताए । “गाउँपालिका भरी रहेका २५ वटा विद्यालयमा पढाइ गर्नका लागि पाठ्यपुस्तक तयारी थालिएको हो।” उनका अनुसार वसन्त आधारभूत विद्यालयका प्रधानाध्यापक हरिबाबु चौलागाईंको संयोजकत्वमा पाँच सदस्यीय पाठ्यपुस्तक तयारी समिति बनाइएको छ ।

अन्य बाँकी काम एक सातामै सक्ने गरी काम भइरहेको छ । चैत महीनाबाट सबै विद्यालयमा पढाई हुने गरी पाठ्यपुस्तक तयारीको कामलाई तीव्रता दिइएको अध्यक्ष न्यौपानेले जनाए । स्थानीय खस भाषामा आधारित पाठ्यपुस्तक निर्माण हुने भएकाले पुरानो संस्कार र संस्कृतिको संरक्षणलाई जोड दिइएको छ । तातोपानी गाउँपालिकामा रहेका धार्मिक, पर्यटन, कृषि र जडीबुटीलाई पाठ्यपुस्तकमा समावेश गरिनेछ ।

अतिरिक्त विषयका रुपमा गाउँपालिकाले विद्यालयमा पढाई गर्ने तयारी थालेको हो । न्यौपानेका अनुसार स्थानीय सरकारले आफू अनुकूलको पाठ्यपुस्तक निर्माण गर्न पाउने अधिकार भएकाले दस्तावेजका रुपमा पुस्तक प्रकाशनको तयारीमा जुटेको हो ।

पाठ्यपुस्तक निर्माणको जिम्मेवारी पाएका वसन्त आधारभूत विद्यालयका प्रधानाध्यापक हरिबाबु चौलागाईंले स्थानीय खस भाषामा आधारित रहेर पाठ्यपुस्तक निर्माणको काम अघि बढेको बताए । उनले पाठ्यपुस्तक निर्माणको काम ८० प्रतिशत सकिएको र बाँकी काम छिट्टै सम्पन्न गर्ने तयारीमा जुटेको जानकारी गराए ।

एक सय ७० पानाको पुस्तकमा ४३ वटा पाठ्यक्रम समावेश गरिनेछ । गाउँपालिकमा रहेको ऐतिहासिक, धार्मिक र स्थानीय भाषाशैली समावेश भएको पाठ्यपुस्तक तयारीको अन्तिम चरणमा पुगेको उनको भनाइ थियो । तल्लो कक्षादेखि पढाई हुने गरी पाठ्यपुस्तक निर्माण गरिएको चौलागाईंले बताए ।

विद्यार्थीलाई बुझिने भाषामा स्थानीयस्तरको पाठ्यपुस्तक निर्माण कार्यले गाउँपालिकाको गरिमा बढाउने उनको भनाइ छ । यसै शैक्षिकसत्रबाट तातोपानी गाउँपालिकाका सबै विद्यालयले स्थानीयस्तरको पाठ्यपुस्तकमा आधारित भई पठनपाठन कार्य गर्ने भएका छन् । रासस

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार ००:००