३ बैशाख २०८१, सोमबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गलकोट नगरपालिकामा बिकास निर्माणले गति लिँदै



माघ १५, बागलुङ । गलकोट नगरपालिकाले नगर सभाहल निर्माण थालेको छ । वडा नं २ नरेठाँटीमा बन्ने सो सभाकक्ष आगामी वैशाखभित्र सक्ने लक्ष्य छ । ६५ लाखको लागतमा सभाहल निर्माण हुन लागेको नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिए ।

नगर सभाहल नगर गौरवको योजनाभित्र छ । नगरका ११ वटै वडामा गौरवका योजना सञ्चालित छन् । सभाहल बनेपछि नगरपालिकालाई कार्यक्रम गर्न सहज हुनेछ । सभाहल नहुँदा तालीम र गोष्ठीका लागि हल भाडामा लिनुपर्ने बाध्यता छ । तोकिएकै समयभित्र सभाहल बन्ने निर्माण समितिका अध्यक्ष यामबहादुर श्रीषले बताए । दुईतले भवनमा एक सय २० जनाभन्दा बढी अट्ने सभाहल बन्नेछ । भुइँतलामा कार्यालय कोठा, स्वागतकक्ष र शौचालय निर्माण गरिनेछ ।

गलकोट नगरपालिकाले सभाहलसँगै वडा तहमा नगर गौरवका योजना अघि बढाएको छ । पूर्वाधार विकासमा ती योजना केन्द्रित छन् । सडक पहिलो प्राथमिकतामा छ । नगरसभाले गौरवका योजना र बजेट पारित गरेको थियो । नगरको दिगो विकासका लागि गौरवका योजना ल्याइएको नगरप्रमुख गैरेले बताए । “बजेटलाई मुख्य योजनामा केन्द्रित गरेका छौँ,” उनले भने, “आवश्यकता र दीर्घकालीन महत्व हेरेर योजना छनोट भएको छ ।” समृद्ध गलकोटको लक्ष्य हासिल गर्न गौरवका योजनाले आधार तयार गर्ने गैरेको भनाइ छ ।

गौरवका योजनामा सडक कालोपत्र, स्वास्थ्यचौकी, पर्यटकीय पूर्वाधार विकास लगायत छन् । वडा नं १ दुदिलाभाटीमा स्वास्थ्यचौकी निर्माण थालिएको छ । त्यस्तै वडा नं ३ मा सडक र छाँगावरोहण ‘क्यानोनिङ’, ४ मा डाँडाखेत–चमुवा सडक स्तरोन्नति, ५ मा हरिचौर बजारको नाली सुधार सडक कालोपत्र, ६ मा हटिया–हरिचौर जोड्ने सडक स्तरोन्नति र ७ मा मल्म–पाण्डवखानी सडक स्तरोन्नति, ८ मा वडा कार्यालय भवन निर्माण, ९ मा वडा कार्यालयको लागि जग्गा व्यवस्थापन, १० मा पाण्डवखानी–रमुवा सडक स्तरवृद्धि तथा वडा नं ११ मा मल्म–रिघा सडक स्तरवृद्धिको योजना अघि बढाइएको छ । रासस

प्रकाशित मिति : १५ माघ २०७५, मंगलबार ००:००