८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उम्मेदवारहरु घरदैलो कार्यक्रममा



चौतारा, आगामी स्थानीय तहको निर्वाचनमा भाग लिएका उम्मेदवार मतदाताहरु संग भोट माग्न घरदैलो कार्यक्रममा जुटेका छन् ।

कतिपय पार्टीहरुले अन्तिम समयमा मात्र उम्मेदवारको टुङ्गो लगाएको हुँदा निर्वाचन कार्यालयमा मनोनयन दाखिला गरी अन्तिम नामावली प्रकाशन भएपछि प्रचारप्रसारमा तीव्रता दिई भोट माग्न जनताको घरदैलो कार्यक्रममा उनीहरु जुटेका हुन् ।

तीन नगरपालिका र नौ गाउँपालिका रहेको सिन्धुपाल्चोक जिल्लामा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा तथा विभिन्न साना दल तथा स्वतन्त्र उम्मेदवार नगरपालिकाको प्रमुखलगायत अन्य पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दिनेसमेत भोट माग्न गाउँ गाउँमा जान थालेका छन् ।

विगत दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा पहिलोपटक मतदान गर्न पाएकामा खुसी व्यक्त गर्दै चौतारा साँगाचोकगढी नगरपालिका–७ का २२ वर्षीय समीर केसीले पहिलोपटक भोट दिन पाएकामा कौतुहल र खुसी पनि लागेको बताए ।

निर्वाचनमा विभिन्न दलले उम्मेदवारी दिए पनि मुख्य रुपमा कांग्रेस, एमाले र माओवादी केन्द्रका बीचमा प्रतिस्पर्धा हुने विश्लेषक बताउँछन् । कुनै ठाउँमा राप्रपाको स्थिति पनि राम्रो देखिएको स्थानीयवासीको भनाइ छ । निर्वाचनमा मतदान गर्न राजधानीलगायत अन्य ठाउँमा गएका मतदाता पनि धमाधम घर फर्कन थालेका छन् ।

नेपाली कांग्रेसको मजबुत क्षेत्रका रुपमा रहेको सांसद मोहनबहादुर बस्नेतको गृह स्थान बाह्रबिसे नगरपालिकामा नेपाली कांग्रेसलाई हराउन माओवादी केन्द्र र राप्रपाले चुनावी तालमेल गरेका छन् । वर्षौंदेखि कांग्रेस कार्यकर्ता रहेका बुद्धराज बस्नेतले टिकट नपाएपछि माओवादी केन्द्र प्रवेश हुनासाथ नगरप्रमुखको टिकट पाएकाले कांग्रेसलाई पराजित गर्न तालमेल गरेको बताइएको छ ।

यसपटकको निर्वाचनमा दुई पत्रकारले समेत उम्मेदवारी दिएका छन् । पत्रकार भक्तध्वज बोहोराले त्रिपुरासुन्दरी गाउँपालिकाको प्रमुख र पत्रकार लक्ष्मी पौडेलले सुनकोसी गाउँपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएकी हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सोमबारदेखि कर्मचारी खटाएको छ । जिल्लामा १४४ मतदान केन्द्रका लागि उपसचिवदेखि सहायकस्तरसम्म एक हजार ५०० कर्मचारी खटाइने र उनीहरु बुधबारसम्म मतदान केन्द्रमा पुगिसक्नुपर्ने छ । मतदान केन्द्र अनुसार घटीमा पाँच र बढीमा सात जनासम्म कर्मचारी खटाइने जिल्ला निर्वाचन अधिकृत विजयकुमार कार्कीले बताए ।

त्यसैगरी मतदान केन्द्रमा पाँच प्रहरी र पाँच म्यादीसहित १० जना र मतदानस्थलमा तीन प्रहरी र पाँच म्यादी प्रहरी खटाइने छ । जिल्लामा १९ नं। केन्द्र लाई विशेष संवेदनशील क्षेत्र मानिएको हुँदा सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको छ । यसका साथै प्रहरी उपरीक्षकको नेतृत्वमा १७ मोबाइल टोलीको समेत व्यवस्था मिलाइएको प्रहरी निरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । रासस

प्रकाशित मिति : २६ बैशाख २०७४, मंगलबार ००:००