३ बैशाख २०८१, सोमबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुपा गाउँपलिकामा वर्षौं देखिको खानेपानी समस्या समाधान हुँदै



पुस २१, पोखरा । बर्षैं देखि खानेपानीको चरम अभाव भोग्दै आएका रुपा गाउँपालिका–७ हंसपुरका स्थानीयवासी उक्त समस्याबाट मुक्त बन्ने भएका छन् ।

युनिका फाउण्डेशन नेदरल्याण्ड, रुपा गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी कास्की शाखाद्वारा सो वडामा ‘रामकोट सोलार लिप्टिङ खानेपानी परियोजना’ निर्माणका लागि त्रिपक्षीय सम्झौता भएको छ ।

गाउँपालिकाको कुडुले खोलाबाट ७ सय ५० मिटरको उचाइमा अवस्थित स्याक्लुङ र डिस्टागाउँमा छुट्टाछुट्टै पानी ट्याङ्की निर्माण गरिनेछ । उक्त आयोजनाको कूल लागत ५ करोड ८९ लाख रुपैयाँ छ ।

रेडक्रस सोसाइटी कास्की शाखाको सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा फाउण्डेशनका प्रतिनिधि सुष्मा थापा, रेडक्रस जिल्ला अध्यक्ष डोलराज पाण्डे र गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यस योजना साढे दुई वर्षभित्र सम्पन्न गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

गण्डकी प्रदेश सरकारको ‘एक घर एक धारा’ अभियानलाई मूर्तरुप दिने उद्देश्यका साथ गरिएको सम्झौताले प्रत्येक घरमा धारा जडान गरिने लक्ष्य राखिएको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

“योजना सम्पन्न भएपछि ३ सय ३३ परिवारका लगभग २ हजारसहित वडा कार्यालय, तीन वटा सामुदायिक विद्यालय, हेल्थपोष्ट र कृषि विकास कार्यालयमा आउने विद्यार्थी एवं सेवाग्राहीले खानेपानीको सुविधा पाउने छन्,” ओझाले भने ।

ओझाका अनुसार गाउँपालिकाको अन्य वडाहरूमा १९ वटा खानेपानी योजना निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । एक वर्षको अवधिमा घर घरमा खानेपानी पु¥याउने ओझाको दाबी छ ।

परियोजनाका प्राविधिक कालीदास सापकोटाका अनुसार योजनाको दिगोपनाका लागि स्थानीय ८ जनालाई तालीम दिएर मर्मतसम्भार गर्नसक्ने दक्ष जनशक्ति तयार गरिने लक्ष्य छ । रासस

प्रकाशित मिति : २१ पुस २०७५, शनिबार ००:००