२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिका प्रमुखले नै भत्काए निर्माणाधीन कार्यालय भवन



पुस २०, खोटाङ । रावाबेंशी गाउँपालिकाको निर्माणाधीन कार्यालय भवन गुणस्तरहीन बनेको भन्दै गाउँपालिका प्रमुख लीलानाथ निरौलाले भत्काएका छन् ।

तीन महीनाभित्र सम्पन्न गर्नेगरी शुभ एण्ड ध्रुव कन्ट्रक्शन प्रालिले निर्माणको काम थालेको कार्यालय भवन गुणस्तरहीन बन्दै गएपछि सम्पन्न नहुँदै गाउँपालिका प्रमुख निरौलाले कोदालोले खनेर भत्काएका हुन् ।

भवन निर्माणका लागि बनाइएको मापदण्ड ख्याल नगरी ठेकेदारले आफूखुशी गुणस्तरहीन भवन बनाएकाले कोदालोले खनेर भत्काइएको प्रमुख निरौलाले बताए । “हामीले भवन निर्माणमा गुणस्तर निर्धारण गर्न र समयमा सम्पन्न गर्न ठेकेदारलाई पटकपटक आग्रह ग¥यौँ ।” उनले भने, “हामीले गरेको आग्रहलाई ठेकेदारले अटेर गर्दै गुणस्तरहीन बनाएपछि सोही खर्चमा पुनःनिर्माण गर्न लगाउन भत्काइएको हो ।”

प्रमुख निरौलाले भवनको भित्री भागको भुइँमा गरिएको ढलान, भवनको गाह्रो, बाहिरपट्टी गरिएको प्लास्टर लगायत भत्काइ दिएको स्थानीयले बताएका छन् । भवन निर्माणमा ठेकेदारले चरम लापरवाही गरेको सर्वत्र गुनासो आएपछि प्रमुख निरौलाले भत्काएर पुनःनिर्माण गर्न आग्रह गरेका छन् ।

भवनको भुइँतलामा ढुङ्गा बिछ्याएर ढलान गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि ठेकेदारले माटोमाथि ढलान गरेको पाइएको प्रमुख निरौलाले बताए । भुइँमा बिछ्याइएको ढुङ्गामाथि चार इञ्च ढलान गर्नुपर्नेमा माटोमाथि दुई इञ्चमात्र गरिएको र ढलानको सामग्रीसमेत गुणस्तरहीन भएको पाइएको प्राविधिकले जनाएको छ ।

गाउँपालिका प्रमुखले निर्माणाधीन भवन भत्काएपछि ठेकेदार कम्पनीले पुनःनिर्माणको काम थालेको स्थानीयवासीले बताएका छन् । ठेकेदारले पुनःनिर्माणको काम शुरु गरे पनि उक्त भवन गुणस्तरहीन नै हुने स्रोतको दाबी छ ।

निर्माणाधीन कार्यालय भवन छोटो समयमा सम्पन्न गर्नुपर्ने भएकाले केही कमजोरी भएको निर्माणको काम जिम्मा लिएको कम्पनीका उमेश राईले स्वीकार गर्छन् । “हतारमा काम गर्दा केही कमजोरी भएकै हो,” उनले भने, “गाउँपालिकाको खबरदारीपछि पुनःभत्काएर गुणस्तर निर्धारण गर्ने काम भइरहेको छ ।”

निर्माणमा समेत ढिलासुस्ती भएको उक्त कार्यालय भवन निर्माणका लागि दोस्रोपटक थपिएको अवधिसमेत गत मङ्सिर १५ गते सकिएको छ । ठेकेदार कम्पनीले ७६ लाखको लागतमा निर्माणको जिम्मा लिएको चार कोठा भएको एकतले भवन अहिलेसम्म पनि सम्पन्न भएको छैन ।

इँटाको गाह्रो लगाएर कोठा छुट्याइने कार्यालय भवनमा आल्मोनियम जडान गरेपछि १४ कोठा हुने जनाइएको छ । प्राविधिक मूल्याङ्कनभन्दा कम लागतमा निर्माण कार्य थालिएको भवनका लागि गाउँपालिकाले एक करोड, तीन लाखमा टेण्डर आह्वान गरेको थियो । ठेकेदार कम्पनी शुभ एण्ड ध्रुव कन्ट्रक्शन प्रालिले घटाघटमा उक्त भवन निर्माणको सम्पूर्ण जिम्मा लिएको गाउँपालिकाले जनाएको छ ।

रावाबेँशीसँगै निर्माण कार्य थालिएको दिप्रुङ चुइँचुम्मा गाउँपालिकाको भवन पाँच महीना अघिनै निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ । दिप्रुङ चुइँचुम्मा बाहेक जिल्लाका अधिकांश गाउँपालिका अहिलेसम्म भाडाकै भवनमा रहेका छन् । रासस

प्रकाशित मिति : २० पुस २०७५, शुक्रबार ००:००