९ चैत्र २०८०, शुक्रबार | Fri Mar 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ठूला पूर्वाधार निर्माण गर्दै भरतपुर महानगर



नारायण अधिकारी

पुस १९, चितवन । देशको मध्यभागमा रहेको भरतपुर महानगरपालिका भित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सेवासुविधा प्रदान गर्ने गरी ठूला पूर्वाधार निर्माणले गति लिन थालेको छ । महानगरप्रमुखमा निर्वाचित भएसँगै रेनु दाहाल भरतपुरलाई देशकै नमूना महानगर बनाउन स्वदेशी र विदेशी सङ्घ संस्थासँगको सम्बन्धलाई विस्तार गर्दै अघि बढेकी छन् ।

उनको अभियानलाई महानगरसमेत पर्ने चितवन क्षेत्र नं ३ का सांसदसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पनि साथ छ । प्रमुख दाहाल प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको सहयोगमा निर्वाचित भएकी हुन् । उनको पार्टी माओवादी केन्द्र पूर्वएमालेसँग एकिकृत भैसकेकाले दाहाललाई काममा सहज पनि भएको छ ।

केही समय अन्योल बनेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कृषि तथा वन विज्ञान विश्वविद्यालय रहेको रामपुरको जग्गामै बन्ने पक्का भएको छ । उक्त महानगरपालिका र धुर्मुस सुन्तली फाउण्डेशनको सहकार्यमा उक्त रङ्गशाला निर्माण प्रक्रिया अघि बढेको हो । सो कार्यकमा लागि जमीन उपलब्ध गराउन त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालय तयार भएको महानगरप्रमुख दाहालले बताइन् । दुई अर्बभन्दा बढी लगानी गरेर एशियाकै नमूना रङ्गशाला बनाउने योजनामा महानगरको छ ।

महानगरपालिकाका अनुसार निकै गृहकार्यपछि यहाँको सभागृह (सिटी हल) निर्माणकार्य अघि बढाइएको छ । शहरी विकास तथा भवन निर्माण विभागको सहयोगमा सभागृह निर्माणका लागि जिल्ला समन्वय समितिको परिसरमा रहेको चार बिघा चार कठ्ठा जग्गा महानगरपालिकाको नाममा हस्तान्तरण भइसकेको छ ।

नक्साङ्कनका लागि प्राविधिक टोली आएर काम शुरु गरिसकेको नगरप्रमुख दाहालले बताइन् । यथाशक्य छिटो विस्तृत अध्ययन गरी नक्साङ्कन गरेर बोलपत्र आह्वान गरिने छ । सो कार्यका लागि शहरी विकास तथा भवन निर्माण विभागले ५१ करोड विनियोजन गरिसकेको छ भने अपुग रकम थप गरेर देशकै नमूना सभागृह हुने उनको जिकिर छ ।

महानगरपालिकाले नारायणगढ बजारको लायन्सचोकमा बहुउद्देश्यीय व्यावसायिक भवन पनि बनाउँदैछ । विस्तृत अध्ययन गरी नक्साङ्कनको काम अन्तिम चरणमा पुगेको इञ्जिनीयर अस्मिता खनालले बताइन् । यथेष्ट पार्किङसहितको १२ तले सो भवनका लागि करिव ८० करोड खर्च हुने अनुमान गरिएको छ । भवन निर्माण भएपछि नारायणगढ बजार व्यवस्थित हुने अपेक्षा महानगरको छ ।

उक्त विभागले भरतपुर महानगरमा एक अर्ब ५० करोड खर्च गरेर रिङरोड र लिङ्करोडको काम पनि अघि बढाएको छ । सघन शहरी तथा भवन निर्माण आयोजनाका प्रमुख कुमार घिमिरेका अनुसार ती बाटाका लागि बोलपत्र आह्वान भई ठेकेदार कम्पनीले काम पनिअघि बढाइसकेका छन् ।

सोही कार्यालयको सहयोगमा भरतपुरस्थित केन्द्रीय बसपार्क मर्मत, रानीपोखरी तथा लक्ष्मीनारायणमा मन्दिर पार्क निर्माणका लागि २६ करोड खर्च गरिँदै छ । ती दुबै पार्क पर्यटकको आकर्षण केन्द्र बन्ने अपेक्षा गरिएको छ । पार्क निर्माणका लागि बोलपत्र आह्वान भइसकेको उनले बताए ।

महानगरकै अगुवाइमा विभागको सहयोगमा भरतपुर अस्पतालमा आठ करोड खर्च गरेर बिरामी कुरुवा घर निर्माण हुँदैछ भने देवघाटमा १२ करोड हाराहारी खर्च गरी शव दाहगृह बनाउने तयारी भइरहेको छ ।

महानगरपालिकाले नारायणगढ नजिकै रहेको नगर वनलाई गौरवको आयोजनाको रुपमा विकास गर्ने तयारी गरेको छ । यसका लागि महानगरप्रमुख दाहालले विज्ञसँग परामर्श भइरहेको बताएकी छन् । नगर वनलाई स्वदेशी एवं विदेशी पर्यटकका लागि आकर्षक गन्तव्यको रुपमा विकास गर्ने योजना महानगरको छ ।

महानगरले विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा र भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा विकास गर्न गृहकार्य अघि बढाएको छ । जनप्रतिनिधि आएसँगै स्वदेशी एवं विदेशी लगानीकर्ताको आँखा भरतपुर महानगरमा परेको छ । विदेशी लगानीकर्ता, दाता, सरकारी अधिकारी महानगर आउने गरेकाले यहाँ स्वदेशीसँगै विदेशी लगानी भित्रिने अपेक्षा बढेको महानगरउपप्रमुख पार्वती शाहले बताइन् । रासस

प्रकाशित मिति : १९ पुस २०७५, बिहिबार ००:००