१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्षयरोग केन्द्रदेखि शङ्खधर चोकसम्म ‘सर्भिस ट्रयाक’ निर्माण शुरु



पुस १९, भक्तपुर । मध्यपुरथिमि नगरपालिका वडा नं ४ स्थित राष्ट्रिय क्षयरोग केन्द्रदेखि शङ्खधर चोकसम्मको छ लेन सडकमा ‘सर्भिस ट्रयाक’ निर्माण शुरु भएको छ । प्रतिनिधिसभा सदस्य महेश बस्नेत र मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले संयुक्त रुपमा सो ट्रयाकको शिलान्यास गरे ।

सो अवसरमा पूर्वउद्योगमन्त्रीसमेत रहेका सांसद बस्नेतले भक्तपुरको सडकलाई सफा, शान्त, जाममुक्त, सुरक्षित र उज्यालो सडक बनाउने अभियान सञ्चालन भएको बताउँदै सोही अभियानस्वरुप अहिले मध्यपुरथिमि नगरपालिकाका क्षेत्रमा निर्माण हुन बाँकी रहेका सर्भिस ट्रयाकको निर्माण शुरु भएको जानकारी दिए ।

सडकको दायाँबायाँ रहेको सर्भिस ट्रयाकलाई छुट्टै मोटरसाइकल लेन बनाएपछि मोटरसाइकल दुर्घटनामा न्यूनीकरण हुने विश्वास व्यक्त गर्दै उनले भक्तपुरलाई जाममुक्त र दुर्घटनामुक्त सडक बनाउने अभियान शुरु भइसकेको बताए ।

सांसद बस्नेतले भने, “सर्भिस ट्रयाक निर्माण सम्पन्न भएसँगै मोटरसाइकल लेन छुट्टै हुनेछ, त्यसले जामलाई पनि कम गर्नेछ, छ लेन सडकमा निर्माण भइरहेको हनुमन्ते र मनोहरा नदीको पुल निर्माण सम्पन्न भएसँगै जाम कम हुन्छ, यो राजमार्गलाई सफा, शान्त र हरियाली बनाउन सरसफाइ, वृक्षरोपण कार्य अभियानकैरुपमा अगाडि बढाएको छ ।”

कोटेश्वर भक्तपुर सडकलाई जाममुक्त बनाउन जडीबुटीबाट नरेफाँट हुँदै बालकुमारी जाने सडकको आँखा अस्पताल नजिकै रहेको हनुमन्ते खोलामा तत्कालका लागि बेलिब्रिज निर्माण शुरु भएको उनले बताए ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले क्षयरोग अस्पतालदेखि शङ्खधर चोकसम्मको ५०० मिटर क्षेत्रफलमा नगरपालिका आफैँले सर्भिस ट्रयाक निर्माण गर्न लागेको जानकारी दिए ।

नगरपालिकाले यसका लागि तत्काल ५० लाखको बजेट विनियोजन गरेको उल्लेख गर्दै उनले सर्भिस ट्रयाक निर्माण सम्पन्नसँगै दुर्घटना न्यूनीकरण समेत हुने बताए ।

नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, प्रशासकीय अधिकृत कमल ज्ञवाली, वडा नं ४ का वडाअध्यक्ष कुमार श्रेष्ठ लगायतले अरनिको राजमार्गलाई दुर्घटनामुक्त राजमार्ग बनाउन लागिपरेको धारणा व्यक्त गरे । रासस

प्रकाशित मिति : १९ पुस २०७५, बिहिबार ००:००