१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राप्रपा नेता पशुपति शम्शेर चुनाव प्रचारमा



मेलम्ची, सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र जिल्लाका नगर तथा गाउँपालिका प्रमुखलगायतका पदहरुमा राप्रपालाई जिताउन राप्रपाका वरिष्ठ नेता पशुपति शम्शेर जबरा र केन्द्रीय सदस्य कोमल ओली लागिपरेका छन् ।

नजिकिँदै गरेको चुनावमा राप्रपालाई पहिलो स्थानमा ल्याउनको लागि जबरा आफैँ घरदैलो कार्यक्रम तथा विभिन्न समारोहमा सहभागी हुँदै आएका छन् ।

आइतबार मेलम्ची नगरपालिकाको फटकशिलामा राप्रपाद्वारा आयोजित एक कार्यक्रममा नेकपा एमाले, माओवादी केन्द्र तथा नेपाली कांग्रेस लगायतबाट पार्टी परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका थिए ।

एकसयभन्दा बढीको सङ्ख्यामा रहेका कार्यकर्तालाई पशुपति शम्शेर र कोमल ओलीले टीका र दोसल्ला ओडाएर आफ्नो पार्टीमा प्रवेश गराएका थिए ।

राप्रपाको मेलम्ची नगरपालिका प्रमुखका उम्मेदवार फणीन्द्र दाहाललाई जिताउन अहिले राप्रपाका नेता घरदैलो कार्यक्रम तथा पार्टी प्रवेश गराउनमा व्यस्त छन् ।

जिल्लाभरि नै चुनावी माहोलको सरगर्मी बढ्दै गर्दा मेलम्ची नगरपालिकामा मुख्य चार पार्टीको चर्को प्रतिस्पर्धा हुने देखिएको छ ।

नगरभरिका गाउँमा नेपाली कांग्रेस, राप्रपा, माओवादी केन्द्र तथा नेकपा एमालेले आ–आफ्नो पार्टीको प्रचारप्रसारका लागि लाखौँको लगानीमा पार्टीको झन्डा तथा टिसर्ट कार्यकर्ता माझ लैजानमा व्यस्त छन् ।

नगरपालिकाका ३१ हजार ९८७ मतदाताबाट चुनिने नगरपालिका प्रमुखमा नेपाली कांग्रेस, राप्रपा, माओवादी केन्द्र र नेकपा एमालेले आफ्नो पक्षमा पार्न विभिन्न चुनावी आश्वासन दिँदै मतदातालाई आकर्षित गर्नेतर्फ लागेका छन् ।

जिल्लाभरि नै आफ्नो सङ्गठन बलियो बनाउनका लागि नेताहरुले भेला, घरदैलो अभियान, र्याली तथा कार्यकर्ता भेटघाटलाई धेरै बाक्लो बनाउन थालेका छन् ।

चार पार्टीको मुख्य प्रतिस्पर्धा रहेको मेलम्ची नगरपालिकामा नेकपा एमालेको नगर प्रमुखको उम्मेदवारी दिने विषयमा कुरा नमिल्दा आफ्नै कार्यकर्ताले क्षेत्रीय पार्टी कार्यालयमा ताला लगाएकाले असन्तुष्ट पक्षले कमै सहयोग गरेको देखिन्छ ।

असन्तुष्ट पक्षमा भएकाबाट नेपाली कांग्रेस र राप्रपालाई फाइदा मिल्ने कांग्रेस तथा राप्रपाका नेता बताउँछन् । रासस

प्रकाशित मिति : २६ बैशाख २०७४, मंगलबार ००:००