१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दलका उम्मेदवार दलित र महिलामा केन्द्रित



जुम्ला, स्थानीय तहका प्रतिनिधि चयन गर्न मतदान गर्ने दिन वैशाख ३१ गते नजिकिदै जादा अहिले दलका उम्मेदवारलाई गाउँगाउँमा भोट माग्न भ्याइनभ्याइ भएको छ ।

विगतको भन्दा फरक अभ्यासबाट उनीहरुले भोट मागिरहेका छन् । आचारसंहिता उल्लङ्घन हुने खालका गतिविधि विद्यालयस्तरमा भएपनि अन्य सार्वजनिक स्थलमा त्यस्तो केही देखिएको छैन । तर दलहरुले आ–आफ्ना पार्टीका समर्थक जनताको घरमा भने पार्टीका झन्डा खडा गर्न बाध्य बनाएका छन् । कतिपय जनताले भित्री इच्छा कसैलाई भोट हाल्ने भएपनि झन्डा हालेर कसैको बन्न बाध्य बनाइएको गुनासो गरेका छन्, जुन निर्वाचन आचारसंहिता विपरीत काम हो ।

यसको विषयमा उनीहरुले निर्वाचन अनुगमन टोलीलाई गाउँगाउँ पुगेर बुझ्न अनुरोध गरेका छन् । तर निर्वाचन टोली चरम गतिविधि भएका गाउँपालिकामा आजसम्म पनि पुग्न सकेको छैन । चुनाव नजिकिँदै गर्दा सामान्य, इमान्दार, सबैमा मायामोह राख्ने र अशिक्षित वर्ग, त्यसको चपेटामा परेको पाइन्छ । त्यसमा दलित महिला, अशक्त र ज्येष्ठ नागरिक नै बढी पर्छन् । तिला गाउँपालिका– ४ का स्थानीयबासी महिला पिउली सार्की भोलि विभिन्न चीज दिउँला भनेर नमस्कार गर्नेहरु यतिबेला धेरै भेटिएको बताछिन् ।

“यसअघि कोही आएनन् तर आजभोलि बढी नै आउँछन् । चुप्प लागेर बसेपनि हाम्रो भविष्य बनाइदिने कुराको चिन्ता गर्दै बडो गज्जबका कुरा गर्छन्,” उनले भनिन् । उनका अनुसार चुनाव प्रचार गर्न आउने सबै नेता कार्यकर्ता पनि जहाँ दलित र महिला छन्, त्यहीँ आउँछन् । “हाम्लाई पैसाले किनेर चुनाव जित्ने सपना राखेका छन्, त्यस्तालाई पाखा लगाउने जुक्ति आफूले पनि रचेको” उनको भनाइ छ ।

यता चन्दननाथ नगरपालिकाको उपप्रमुखको उम्मेदवारी दिएका मनसुर सुनारले भने पैसावाल राजनीतिक संस्कृतिले दलित, इमान्दार र पिछडिएको वर्ग अझै माथि उठ्न नसक्ने अवस्था रहेको दुखेसो गरे । खर्च गर्ने हैसियत कमजोर भएकाले आफू प्रमुखमा नउठेको उनको भनाइ छ । गरिब, दलित र कमजोर वर्ग भएकाले केही दिएर पनि जित्छौँ भन्ने हेतुले महिला र दलितमा दलका उम्मेदवार केन्द्रित भएको उनको टिप्पणी थियो ।

दलितलाई भोट बैंकका रुपमा मात्र प्रयोग गरेको र कुनै पनि पार्टीले वडाध्यक्षसम्मको पनि टिकट नदिएको भन्दै पाँच दिन अघि तिला गाउँपालिका–४ निवासी नेकपा माओवादी केन्द्रका लालबहादुर सुनार, एमालेका भद्रवीर नेपाली र नेपाली कांग्रेसका शेरबहादुर सुनार नेतृत्वको दलित जनसमूहले विद्रोह नै गर्यो र सबै दलित एक भएर स्वतन्त्र उम्मेदवारी दिन सुर कस्यो । त्यसबेला पनि दलका उम्मेदवार उनीहरुलाई कोरा आश्वासन बाँड्नमा केन्द्रित भए र उम्मेदवारी आफ्नो हातमा पारे ।

दलित महिलालाई सोझो वर्गका रुपमा देखेर प्रयोग गर्न खोजेको स्थानीयवासी राजकुमारी शाहीको आरोप छ । उनले स्थानीय व्यक्ति नै उम्मेदवार भएका र सबैको हैसियत राम्रैसंग बुझेकाले यसमा कसैले आश्वासन दिँदैमा केही नहुने बताइन् । जनतालाई खसीपाठा झैँ खरिद गर्ने ठेकेदारलाई धुलो चटाएर पठाउने चेतावनी उनले दिएकी छन् । रासस

प्रकाशित मिति : २६ बैशाख २०७४, मंगलबार ००:००