१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आचारसंहिता विपरीत गतिविधि गरेको भन्दै स्पष्टीकरण माग



काठमाडौँ, निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै नेकपा एमाले तर्फबाट धादिङ, थाक्रे गाउँपालिकाका अध्यक्षका उम्मेदवार रामकुमार आचार्य र उपाध्यक्षका उम्मेदवार अम्बिका रुपाखेतीसँग चौबीस घन्टे स्पष्टीकरण सोधेको छ ।

स्थानीय तह निर्वाचनको प्रचारप्रसारको सिलसिलामा एमाले उम्मेदवारले सोमबार तीन ट्रक प्रचारकसहितको स्कारपियो गाडी, ब्यानर एवं दल र निर्वाचन चिन्ह सहितको टि–सर्टलगायत निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ विपरीत मोटरसाइकल र्याली निकालेको भन्दै स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ, “निर्वाचन आचारसंहिता विपरीत काम कारबाही गरेको कसुरमा हदैसम्मको कारबाही किन नगर्ने रु कारबाही गर्नु नपर्ने कुनै कारण भए पत्र प्राप्त भएको मितिले २४ घन्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेस गर्न आदेशानुसार अनुरोध छ ।”

धादिङको निर्वाचन तयारी तथा शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिन सोमबार धादिङ बेसी पुगेका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव स्वयंले स्थानीय सिम्लेमा उम्मेदवारहरुले आचारसंहिता विपरीतका गतिविधि गरेको फेला पारेका थिए । सो क्रममा डा यादवले तत्काल र्याली रोक्नसमेत निर्देशन दिएका थिए ।

यस्तै आयोगले फेसबुकमार्फत गलत सूचना सम्प्रेषण गरी आचारसंहिताको उल्लङ्घन गरेको भन्दै माओवादी केन्द्र संसदीय दलका सचेतक सीता नेपालीसंग पनि स्पष्टीकरण सोधेको छ । सचेतक नेपालीले आयोगका प्रवक्ताको भनाइ भन्दै ‘माओवादी केन्द्र–१४५, नेपाली कांग्रेस–१३५, नेकपा एमाले–२५, राप्रपा–२ र नयाँ शक्ति–१’ ठाउँमा निर्विरोध सदस्य निर्वाचित भएको गलत सूचना फेसबुक स्टाटसमा राखेको भन्ने उजुरीका आधारमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । रासस

प्रकाशित मिति : २५ बैशाख २०७४, सोमबार ००:००