जेठ ९,सङ्खुवासभा । सङ्खुवासभा धर्मदेवी नगरपालिकाको तेस्रो नगरसभाले दीर्घ प्रकृतिका रोगीलाई लक्षित गरी स्वास्थ्य क्षेत्रमा उदाहरणीय कामको थालनी गरेको छ ।
नगरक्षेत्रमा रहेका मिर्गैला, क्यान्सर, दम, मुटुका रोगी लगायतका कडा र दीर्घकालीन प्रकृतिका रोगको उपचारको अभावमा छटपटिरहेका विपन्न, गरीब, असहाय, अशक्तका लागि प्राथमिक उपचारसँगसँगै सुविधासम्पन्न अस्पतालमा लैजान प्रेरित गरिने उद्देश्यका साथ परिषद्ले यस्तो निर्णय गरेको हो ।
नगरक्षेत्रका नागरिकमध्ये त्यस्ता गम्भीर प्रकृतिका रोगीलाई नगरको बजेटबाट १५ हजारका दरले औषधोपचार खर्च उपलब्ध गराउने निर्णय गरिएको छ । यो निर्णयसंगथै १० रोगीले यस किसिमको सुविधा लिइसकेको जानकारी नगरप्रमुख रमेश जिमीले दिए ।
नगरप्रमुख जिमीका अनुसार दुई दर्जनबढी दीर्घरोगीले यस किसिमको सुविधाका लागि निवेदन दिइसकेका छन् । रोगको पहिचान गरी सम्बन्धित वडा कार्यालयले सिफारिश गरेको आधारमा यस किसिमको सुविधा उपलब्ध गराउँदै आएको समेत उनले बताए ।
रोगको पहिचान हुन नसक्दा अकालमै ज्यान गुमाउनुपर्ने जोखिमबाट बचाउने उद्देश्यका साथ असहाय र अशक्तलाई लक्षित गरी नगरले यस किसिमको कार्यक्रम ल्याएकोमा नगरवासी उत्साहित भएका छन् । रासस




प्रतिक्रिया