११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाँच स्थानीय तह र पुनःनिर्माण प्राधिकरणबीच समझदारी



मङ्सिर २५, ललितपुर । जिल्लाका पाँच वटा स्थानीय तह र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबीच पुनःनिर्माणमा रहेका समस्या हटाएर बाँकी रहेका घर चाँडो निर्माण सक्ने गरी समझदारी भएको छ ।

जिल्ला पुनःनिर्माण समन्वय समिति ललितपुरको बैठकपछि ललितपुरका दुई नगरपालिका र तीन गाउँपालिकासँग प्राधिकरणले सम्झौता गरेको हो ।

नगरपालिकाका प्रमुख र गाउँपालिका अध्यक्षहरु तथा प्राधिकरणको केन्द्रीय योजना कार्यन्वयन एकाइअन्तर्गतको जिल्ला परियोजना कार्यान्वयन एकाइ प्रमुख वीरबहादुर रावलले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

ललितपुर महानगरपालिकाले एक साताभित्र हस्ताक्षर गर्ने बताएको छ । प्राधिकरणले पुनःनिर्माणलाई गति प्रदान गर्न प्रभावित जिल्लाका स्थानीय तहसँग छलफल गरिरहेको छ । स्थानीय तहसँगै त्यस क्षेत्रका प्रतिनिधिसभा र प्रदेशसभा सांसदसँग छलफल गरेर प्राधिकरणले पुनःनिर्माणमा भइरहेको ढिलाइका कारण बुझेर समाधान निकालिरहेको हो ।

ललितपुरका वागमती, कोञ्जेसोम र महाङ्काल गरेर तीन गाउँपालिकामा पुनःनिर्माणले केही गति लिन थाले पनि नगरपालिका र महानगरपालिकामा सुस्त छ ।

जिल्लाभरमा गुनासोपछि थप भएका समेत गर्दा जम्मा लाभग्राही सङ्ख्या २८ हजार ३८२ छ । पहिलो किस्ता लिने लाभग्राही सङ्ख्या २४ हजार ४११ छ । दोस्रो किस्ता लिनेको सङ्ख्या नौ हजार ३३४ र तेस्रो किस्ता लिने लाभग्राहीको सङ्ख्या छ हजार १३० रहेको छ । रासस

प्रकाशित मिति : २५ मंसिर २०७५, मंगलबार ००:००