१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘किसान प्रोत्साहन कार्यक्रम’ कोदो उत्पादक किसानलाई पुरस्कृत गरिने



 

मङ्सिर १७, बागलुङ । कोदो बाली जोगाउन ढोरपाटन नगरपालिकाले नयाँ प्रयास थालेको छ । ‘किसान प्रोत्साहन कार्यक्रम’ मार्फत कोदो उत्पादक किसानलाई पुरस्कृत गर्न लागिएको हो । यसबाट किसान खेतीतर्फ प्रेरित हुने विश्वास गरिएको छ ।

सोको लागि नगरसभाले चालू आवमा १५ लाख बजेट छुट्टाएको छ । आउँदो माघभित्र किसानलाई पुरस्कार रकम बाँडिने नगरप्रमुख देवकुमार नेपालीले बताए । उनका अनुसार १०० किसानले पुरस्कार पाउनेछन् ।

नगरपालिकाले कृषि शाखामार्फत कोदो खेतीको अध्ययन अघि बढाएको छ । “वैज्ञानिक हिसाबले रकम बाँड्छौँ” नगरप्रमुख नेपालीले भने, “बढी उत्पादन गर्ने किसानले पुरस्कार पाउँछन् ।” खेती गरेको जग्गा, उत्पादनको मात्रा अनुसार रकम घटीबढी हुनेछ ।

कार्यपालिका बसेर पुरस्कार वितरणको आधार र कार्यविधि तय गरिने प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताए । गाउँको जग्गा बाँझिदै गएकोप्रति उनले चिन्ता व्यक्त गरे । “बसाइँसराइ बढ्दो छ, खेती घट्दै छ”, उनले भने, “परम्परागत खेती जोगाउन सानो प्रयास थालेका हौँ ।”

मानिसले कोदोका परिकारमा रुचि देखाउन थालेकाले मकै, कोदोजस्ता बाली संरक्षण गर्नुपर्ने उनको भनाइ छ । स्वस्थ शरीरका लागि कोदोका परिकार उत्तम मानिने हुँदा शहरी क्षेत्रमा पनि माग छ । नगरपालिकाले कोदो खेती गर्ने किसानलाई उन्नत बीउ, मल, कृषियन्त्र पनि उपलब्ध गराउनेछ ।

किसानले पुरस्कार रकम कोदो बाली प्रवर्धनमै खर्च गर्नुपर्नेछ । पछिल्लो समय कोदो बालीको उत्पादन घट्दै गएको छ । अन्य बालीको तुलनामा उत्पादन कम हुने र लागत बढी लाग्ने हुँदा कोदोमा किसानको आकर्षण घटेको हो ।

कोदोबाट रोटी, ढिँडो जस्ता परिकार बनाइन्छ । उच्च पहाडी र मध्यपहाडी क्षेत्रमा कोदो खेती गरिन्छ । तराईका कतिपय जिल्लामा समेत कोदो खेती गर्न थालिएको छ । परम्परागत बाली संरक्षणमा नगरपालिकाको गरेको पहलप्रति किसान खुशी छन् । कृषिमा अनुदान बढाउनुपर्ने र यान्त्रीकीकरणमा सघाउनुपर्ने किसानको माग छ ।
रासस

प्रकाशित मिति : १७ मंसिर २०७५, सोमबार ००:००