१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीका दुई स्थानीय तह सडक तथा यातायातकाे पहुच बाट टाढा



 

मङ्सिर १७, बैतडी । विकासका पूर्वाधारमध्येको प्रमुखका रुपमा रहेको सडक तथा यातायातबाट बैतडीका दुई स्थानीय तह टाढा रहेका छन् ।

जिल्लाका दुई वटा स्थानीय तहका केन्द्रमा अझै सडक पुग्न सकेको छैन । जिल्लाको सिगास र डिलाशैनी गाउँपालिकाका केन्द्रमा सडक पुग्न नसकेको हो । स्थानीय तहका केन्द्रमा सडक नपुग्दा सेवा प्रवाहमा असहजता भएको सम्बन्धित स्थानीय तहले जनाएका छन् ।

अझैसम्म पनि गाउँमा सडक नपुग्दा त्यहाँका नागरिक पैदल हिँडेर दैनिकी चलाउन बाध्य छन् । सडक नपुगेका स्थानीय तहका बासिन्दा कष्टकर जीवन बिताइरहेका छन् । गाउँमा सडक नपुगेकाले बिरामी पर्दा त्यहाँका बिरामीलाई घण्टौँ बोकेर अस्पताल पु¥याउनुपर्ने बाध्यता रहेको छ ।

सिगास गाउँपालिकामा अहिलेसम्म सडक पुग्न नसकेको गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए । गाउँपालिकाका १, २ र ३ नम्बर वडालाई मात्र सडकले छोएको धामीले बताए । गाउँपालिकाका बाँकी छ वडामा सडक पुग्न बाँकी छ । धामीका अनुसार अबको एक वर्षभित्र गाउँपालिका भरि सडक पु¥याउने लक्ष्य गाउँपालिकाले राखेको छ । गाउँमा सडक नपुग्दा आफूहरुलाई धेरै समस्या हुने गरेको सिगास गाउँपालिका ७ का शिक्षक चक्रबहादुर साउँदले बताए ।

डिलाशैनी गाउँपालिकामा पनि सकड नपुग्दा धेरै समस्या भएको वडा नम्बर १ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता अक्कल रानाले बताए । रानाका अनुसार गाउँपालिकाको वडा नम्बर २, ३ र ६ को केही भागमा सडकले छोए पनि अन्य ठाउँमा सडक पुग्न सकेको छैन । अहिले स्थानीय सरकार सडकलाई प्राथमिकतामा राखेर काम गरिरहेकाले केही समयमै डिलाशैनीका सबै ठाउँमा सडक पुग्ने रानाले बताए ।

प्रदेश र सङ्घीय सरकारले वडा–वडालाई सडक सञ्जालले जोड्ने घोषणा गर्दै आएको भए पनि बैतडीका दुई वटा स्थानीय तहमा सडक सञ्जालसँग जोडिन बाँकी छन् ।

जनताका समस्या समाधान गर्ने उद्देश्यले गाउँघरमै गठन भएको स्थानीय सरकारले जनताका यस्ता समस्या समाधानको लागि खासै चासो नदिएको नागरिकको गुनासो रहेको छ ।
रासस

प्रकाशित मिति : १७ मंसिर २०७५, सोमबार ००:००